
संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नेता कुमार लिङदेनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई सम्वोधन गर्दै अब अर्को चरणको कार्यक्रममा राजधानीमा १० हजार लिम्बुवान भोलेन्टियर उतारेर ‘झ्याम कि झ्याम हान्ने’ र ‘सत्ता पल्टाइदिने’ चेतावनी दिएका छन् ।
आदिवासी जनजाति महासंघले थालेको आन्दोलनलाई लिम्बुवानदेखि मगरातसम्म नयाँ पहिचानयुक्त राज्यहरु बन्नुपर्छ भन्ने मागसहित अघि बढाउनुपर्ने भन्दै लिङदेनले ईयुको प्रतिवेदन कार्यान्वयन नगरिए देशमा आगो बल्ने बताए ।
माइतीघर मण्डेलामा अाज अायाेजित ‘पहिलो चरणको आन्दोलन’ अन्तरगत विरोध प्रदर्शनमा लिङ्देनले यस्ताे चेतावनी दिएकाे हाे ।
लिङदेनले क्षेत्रीहरुलाई पनि फकाउने प्रयास गरे । उनले क्षेत्रीहरुको भाग बाहुनले खाएको आरोप लगाए । साथै काठमाडौंका नेवारहरुलाई पनि उनले आन्दोलनमा उठ्न आग्रह गरे ।
लिङ्देनले बाेलेकाे भाषणकाे सक्षिप्त अंश –
यो हाम्रो पहिलो चरणको कार्यक्रम हो । अब अरु चरणको कार्यक्रम अलि सशक्त भएर जाने हामीले विश्वास लिएका छौं । अब हामीले यो आदिवासी आन्दोलनलाई अलिकति आक्रामक किसिमले लानुपर्छ कि जस्तो हामीलाई लागिरहेको छ ।
आक्रामक भन्नाले बन्दूक बोक्ने भनेको होइन । तर, के हो त ? यहाँ संसारले हेरिरहेको छ हामीलाई । संसारले देखिरहेको छ । अब भिड्ने हो ।
अब अर्को चरणको आन्दोलनमा म आशा गर्छु, हामी यहाँ ५/१० हजार भेला हुन्छौं । कसले हामीलाई रोक्न खोज्छ ? झ्याम कि झ्याम हानाहान गर्ने हो । हामी ५ हजार लिम्बुवान भोलेन्टियर्स यो चोकमा यहीँ सहीद हुनका लागि तयार भइरहेका छौं । यहाँ हामी पहिले पनि आएका हौं, फेरि यो सिंगो सरकारलाई, यो गृहमन्त्रीलाई , यो प्रधानमन्त्रीलाई, यो राज्यलाई हाम्रो च्यालेञ्ज छ, हामी मर्न आउँदैछौं, तिमीहरुका हतियारहरु तयार गरिराख ।
यो सिंहदरबारमा राक्षस बस्छ । काठमाडौंको सत्तामा राक्षसहरु बस्छ । हामी लड्न तयार छौं । कोही अब डराएर भाग्ने अवस्थामा छैन ।
सबै आदिवासी जनजाति महासंघसँग सम्बन्धित साथीहरु, हाम्रो आन्दोलन अलिकति सशक्त (पारौं) । केही गर्नेवाला छैन । यहाँको प्रहरीको, यहाँको सेनाको, यहाँको राज्य संयन्त्रको आन्द्रा, भुँडी, गिदी हामीले बहुत राम्ररी छामिसकेका छौं । केही छैन । केही छैन ।
५/१० हजार मान्छे भेला भएर झ्याम कि झ्याम हानाहान गर्ने हो भने भोलि यो देशमा सत्ता पल्टिन्छ । हेर्याछौं हामीले ०४६ सालको आन्दोलन । त्यसले गर्दा कोही आत्तिनेवाला छैन । यो पहिलो चरणको कार्यक्रम भएर यसलाई शान्तिपूर्ण तरिकाले लान जरुरी छ । तर, आगामी कार्यक्रममा अलिकति हानाहान गर्न जरुरी छ ।







