पटक पटक एमाले अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएकाे वार्ता र छलफलले कुनै परिणाम निकाल्न नसकेपछि फेरि पनि  यी दुर्इ पार्टी एकताकाे कुरा भ्यागुतााकाे धार्नी पुर्याउनुजस्तै हुन पुगेकाे छ ।

ओली र प्रचण्डबीच तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्ता भएको छ । शनिबार वार्ता भएको तर, ठोस सहमति हुन नसकेको स्रोतले बताएको छ ।

अाइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखेको छ, जहाँ कार्यक्रममा ओली र प्रचण्ड दुबैले अाैपचारिकताका लागि सम्बोधन मात्र गर्नेछन् ।

तर, छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने बुझिएकाे छ । ‘अाइतबार पार्टी एकताको मिति नआउने भयो’ माओवादी केन्द्रका एक नेताले भने, ‘एमाले नेताहरूबीच छलफल हुन बाँकी रहृयो ।’

नेताहरुले विश्व मजदुर दिवसको अवसर पारेर वैशाख २२ अर्थात मे ५ मा एकता घोषणा गर्न उपयुक्त हुने बताएका छन् । तर, ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन ।

यसअघि दुई दलले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने योजना बनाएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ ।

शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

माओवादी केन्द्रले समान हैसियतमा मात्र एकता हुन सक्ने बताएको छ भने एमालेले ५०-५० असम्भव बताएको छ ।

पछिल्लो समय प्रचण्डले एकतापछिको पहिलो महाधिवेशनबारे पनि प्रष्ट हुन चाहेका छन् । उनले एमाले अध्यक्ष ओलीसँग वैचारिक राजनीतिक विषयमा कसरी निर्णय गर्ने ? नेतृत्व चयनको मोडालिटी लगायतका विषयमा छलफल गरेका छन् ।

तर, एमाले नेताहरुले भने महाधिवेशनबाट नेतृत्व दिने लिखित सहमति गर्न नसकिने बताउन थालेका छन् । यसले प्रचण्डले यही अडान राखेको बुझिन्छ ।

प्रचण्डकाे ठाेस व्यवस्थापन नहुनु र त्यसबारे एमाले नेताहरूकाे अरूचीका कारण एकताले गति लिन नसकेकाे विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार