
नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी ब्युरो ईन्चार्ज विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नक्कली कम्युनिस्ट भएको बताएका छन् ।
उनले शान्ति प्रक्रियामा आएपछि प्रचण्डले केपी ओलीलगायतका नक्कली कम्युनिष्टहरुसँग मिलेर जनताको बलिदानलाई सत्ता स्वार्थमा बिलिन गराएको आरोप लगाए ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका विप्लवले पार्टी निकट दलित विभागले अायोजना गरेको कार्यक्रममा बोल्दै दलित समुदायका समस्या राज्यब्यवस्थासँग सम्बन्धित भएको बताउँदै जातीय र बर्गिय समस्यालाई वास्ताविक कम्युनिष्ट पार्टीले मात्रै हल गर्न सक्ने बताए । सत्तामा पुगेका नक्कली कम्युनिस्टहरुले दलितलगायत उत्पीडित वर्ग र समुदायलाई ‘फुटाउ र राज गर’ को नीति अपनाएर सत्ता स्वार्थमा उपयोग गर्दै अाएको बताए ।
अाइतार बागलुङमा नेपाल कम्युनिस्ट पार्टी दलित विभागद्धारा अायोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले संसदीय ब्यवस्थाले देश र जनताको भलो नगर्ने बताउँदै खारेजीको लागि अाफ्नो पार्टी जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताए । उनले जनयुद्धले उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि ठूलो मूल्य तुकाएको तर नेतृत्वको गद्दारीकै कारण संस्थागत हुन नसकेको धारणा राखे । उनले सम्पूर्ण जनताको पूर्ण मुक्ति एकीकृत जनक्रान्तिको माध्यमबाट हुने दाबी गर्दै हातेमालो गर्न अपील समेत गरे ।
कार्यक्रममा विभागका प्रमुख सन्तोषी बिकले ‘परिवर्तित सन्दर्भमा दलितको मुक्तिको प्रश्न’ बिषयक अवधारणा पत्र प्रस्तुत गरेकी थिइन् ।
सोही कार्यपत्रमाथि एकिकृत राप्रपा राष्ट्रवादी बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, संघीय समाजवादी फोरमका भक्तबहादुर बिक, नागरिक समाजका संयोजक काजि गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासघं बागलुङका शाखाका सल्लाहकार कोपिला कँडेल र मजदूर नेता कृष्ण बिकलगायतले टिप्पणी गरेका थिए । बक्ताहरुले जातीय समस्यालाई वर्गीय रुपमा समाधान गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी कार्यक्रममा प्रबिण साप्कोटा, बिष्णु साप्कोटा र राम बहादुर बस्याललगायतले दलित मुक्तिबारेमा धारणा राखेका थिए । कार्यक्रम दलित बिभागका प्रमुख सन्तोषीको अध्यक्षता, महेन्द्रको स्वागत मन्तब्य र सशिलाको संचालनमा सम्पन्न भएको थियो ।







