केपी अाेलीकाे चर्काे राष्ट्रवाद फेरि एकपटक छताछुल्ल भएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सरकारले आगामी जेठ ११ (मे २५) का लागि तयारी गरिरहेको थियो । तर, भारतले दिएकै मिति (मे ११) मा मोदीलाई स्वागत गर्न नेपाल सरकार तयार हुनुले अाेलीकाे राष्ट्रवाद खुला रूपमा प्रकट भएकाे हाे ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय गर्ने काम नेपालको ईच्छामा नभई भारतकै ईच्छामा भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै चीनको भ्रमण गरेर फर्केका छन् । नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्ने विषयमा आन्तरिक छलफल भइरहेकाे बेला केपी ओली चीन नजाँदै भारतीय प्रधानमन्त्री मोदी नेपालमा आउनेछन् ।
यसरी भारतले अाफ्नै याेजना र निर्देशनमा नेपाललार्इ दबाब दिएपछि अाेली सरकार नराम्राेगरी झुक्न बाध्य भएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिने भ्रमणका क्रममा पाँचवटा योजनाहरु तय भएको स्रोतका भनाइ छ ।
पहिलो, भारतीय प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलन्यास गर्नेछन् । अरुण तेस्रोको शिलान्यास केपी ओलीको भ्रमणका बेला दिल्लीमै गर्ने भनिएकोमा नेपाली पक्षले तयारी नपुगेको भनेपछि रोकिएको थियो ।
दोस्रो, भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने अर्को कार्यक्रम छ । यसको तयारीका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्रीसँग भेटवार्ता गरिसकेका छन् ।
तेस्रो, भारतीय प्रधानमन्त्री मोदी मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रमसमेत रहेको स्रोतले बतायो ।
चौथो, काभ्रेमा भारतीय सहयोगमा बन्ने भनिएको प्रहरी एकेडेमीको पनि मोदीले उदघाटन गर्ने कार्यक्रमबारे गृहकार्य भइरहेको सरकारी स्रोतले जानकारी दिएको छ ।
र, पाँचौं, भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला ठूलो राशीको सहयोगको घोषणा हुन सक्ने नेपाली पक्षको अनुमान छ । ओली सरकारले भारतसँग त्यस्तो सहयोगको अपेक्षा गरेको सरकारी अधिकारीहरु बताउँछन् ।
केपी ओलीको भारत भ्रमण तयारीबिनै हतार-हतार भएकाले त्यस्तो सहयोगको घोषणा हुन नसकेको भन्दै मोदीको भ्रमणमा नेपालले आर्थिक सहयोग पाउन सक्ने अपेक्षा सरकारी अधिकारीहरुले गरेका हुन् ।
मोदी नेपाल आउने समय सार्वजनिक हुनासाथ सामाजिक सञ्जालहरुमा नाकाबन्दीकै बेलामा जस्तो मोदीको आलोचना सुरु भएको देखिन थालेको छ ।
यो स्थितिमा मोदीको नेपाल भ्रमणका बेलामा उनको विरोधमा आवाज उठ्ने भएको छ ।
त्यसो त २००७ सालको क्रान्तिपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमणमा आउँदा एयरपोर्टमै नेपालीहरुले कालो झण्डा देखाएको इतिहास छ । ६ दशक अगाडिको त्यस्तो विरोधको सामना यसपालि मोदीले पनि गर्नुपर्ने संकेत देखिएका छन् ।
विप्लव नेतृत्वकाे नेकपा, वैद्य माअाेवादी, माेहन विक्रम सिंहकाे नेकपा मसाल लगायतका चारवटा पार्टीले अरुण तेस्रोमा हुन लागेको सहमतिको विरोध गर्दै आएको छ ।







