
पुनर्गठित माअाेवादी कैन्द्रका अध्यक्ष गाेपाल किरातीले एमालेलार्इ कम्युनिस्ट पार्टीकाे खाेल अाेढेर सच्चा कम्युनिस्टहरूकाे रगत पिउने दलाल तथा नाेकरशाही गुटकाे संज्ञा अाराेप लगाएका छन् ।
एमालेलार्इ चरम गाेर्खाली अन्धराष्ट्रवादी गुटकाे रूपमा रहेकाे भन्दै किरातीले अहिले पछिल्लाे समयमा एमालेले लेनिनमाथि हमला गरेकाे भन्दै त्यसकाे प्रतिराेध क्रान्तिकारीहरूले गर्नुपर्ने बताएका छन् ।
लेनिन जयन्तीकाे अवसर पारेर हालै साे पार्टीकाे सम्पन्न केन्द्रीय समितिकाे बैठकमा किरातीद्धारा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा एमालेलार्इ यस्ता संगीन अाराेपहरू लगाइएकाे हाे ।
अहिले माअाेवादी केन्द्रबाट प्रचण्डहरू मालेमाकाे विचारबाट निर्लज्ज एमालेमा पतन भएकाे किरातीकाे प्रतिवेदनमा गंभीर अाराप लगाइएकाे छ ।
किरातीद्धारा प्रस्तावित तथा पारित प्रतिवेदनकाे संक्षिप्त अंश –
जबज गुटः कम्युनिष्ट पार्टीको खोल ओडेर सच्चा कम्युनिष्टहरुको रगत पिउने एमाले नामको गुट दलाल तथा नोकरशाही अनुदारवादी गुट हो, जुन चरम गोर्खाली अन्धराष्ट्रवादी गुट हो । ०२८ मा झापा विद्रोह गरेर सकारात्मक भूमिका खेलेको त्यस गुटले क्रमशः उसको चौथो महाधिवेशनबाट माओवाद परित्याग ग¥यो । त्यसपछि बहुदलीय जनवाद नामको संसदवादी कार्यक्रममा सीमित त्यो गुट अहिले लेनिनमाथि हमला केन्द्रीत गरिरहेको छ ।
नेपाली जनता कम्युनिष्टप्रति झुकाव राख्दछन् । त्यसकारण जनतालाई भ्रम दिने प्रयोजनका निम्ति मात्र त्यसले कम्युनिष्ट पार्टी र माक्र्सवादलाई संस्थागत रुपमा परित्याग गर्न सकिरहेको छैन । आफ्नो पार्टी कार्यालयमा अमेरिकी राजदुत आउँदा माक्र्स–लेनिनको तस्विर लुकाउने निरिह संशोधनवादी गुट हो एमाले । जनपक्षीय उम्मेदवारको नाममा ०४२ बाट शाही पञ्चको अभ्यास सुरु गरेको एमाले गुट गणेशमान सिंहको दृढताले मात्र बहुदलीय जनवादीसम्म बन्न पायो । ०४७ मा संविधानबारे आफ्नो २७ बुँदे फरक मत पोलेर खाने, भारतलाई महाकाली नदी बेच्न सम्पूर्ण शक्तिसाथ लाग्ने, जनयुद्धमाथि दमन गर्न काँग्रेसी सरकारलाई ज्यान दिएर सघाउने, १९ दिने जनआन्दोलन स्थगनको षडयन्त्रपूर्ण वक्तब्य दिने, गणतन्त्रको आन्दोलनलाई गोरुगाढासँग तुलना गर्ने, शान्ति सम्झौतामा माओवादीले संघीयता छाडेको भ्रम फैलाएर गौर हत्याकाण्ड गराउने गुट हो एमाले ।
नेपाली जनता दासढुङ्गा घटना मदन भण्डारीको हत्याकाण्ड भएको र त्यसमा खड्ग ओली गुटको हात रहेको ठान्दछन् । जबजको आधारमा मदन भण्डारी कम्युनिष्ट नरहे पनि देशभक्त नेता अवश्य थिए । तर त्यस गुटकाहरु पटक–पटक कार्यकारी प्रमुख हुँदासमेत दासढुङ्गा काण्डबारे छानविनको जिम्मेवारी नलिनुले जनताको धारणा सही प्रमाणित गर्छ । साहना प्रधानलाई प्रथम राष्ट्रपति बन्न नदिने, अराजक प्रधानसेनापतिलाई कारवाही गर्दा दुई जिब्रे नीति लिएर भाग्ने, जननिर्वाचित प्रमको नारामा भोट मागेर संसदवादमा लम्पसार पर्ने, कथित बहुजातीय पहिचानको नारा दिएर प्रदेशहरुको सीमांकन परिमाजर्ननका लागि संविधान संशोधन प्रस्तावलाई राष्ट्रघात भन्ने, आफ्नो समूहको कार्यकर्तालाई अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाको बधुवा मजदुर बनाउने एमाले गुट नव–प्रतिक्रियावादी चरित्रमा गोर्खाली अन्धराष्ट्रवादी तत्व हो । एमाले गुटको चरम अनुदारवादी सिद्धान्त, राजनीति र संस्कृतिमा प्रचण्ड समूहको आत्मसमपर्णले त्यो गुट अझ सुन्निएको छ ।
नेपाली राजनीतिमा पुँजीवादी गणतन्त्रका लागि पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो नायकत्व कायम गरे । त्यस बाहेकको वर्गसंघर्षमा भने मोहनवैद्य (किरण)को बैचारिक टिप्पणी सही सावित भयो कि वास्तवमा प्रचण्ड कम्युनिष्ट क्रान्तिकारी ठहर्न सकेनन् । प्रचण्ड र बाबुराम भट्टराई दुवैको अन्तिम राजनीतिक लक्ष्य पुँजीवादी गणतन्त्र मात्र रहेछ । फरक के भने गणतन्त्रपछि बाबुराम कम्युनिष्ट नाम छाड्ने, प्रचण्ड चाहिँ नछाड्ने । त्यसकारण प्रचण्ड एमालेकरणतर्फ पलायन भए । एक समय झापाली समूह निम्न पुँजीवादी रहेकाले क्रान्तिमा टिकी रहन सकेन, भन्ने माओवादीको मुल्यांकन थियो, जो सही हो । तर प्रचण्ड समूह त्यहीँ पुग्यो, जहाँ झापाली समूहले घृणित संशोधनवादको फोहरी आहल खडा गरेको छ । क्रान्तिकालीन माओवादीमा भन्ने गरिन्थ्यो– ‘त्यत्रो सोभियत लालसेना, त्यत्रो चीनिया जनसेना हुँदाहुँदै त्यहाँ कसरी प्रतिक्रान्ति भयो ?’ सोभियत संघ र चीनमा त मुख्य नेताको निधनपछि मात्र प्रतिक्रान्तिहरु भए । तर नेपाली जनयुद्धमा ? यत्रो क्रान्तिकारी भनिएकाहरु प्रचण्डसँग माओवादी टाउको बिना जिउँदै मुर्कुट्टा बन्न कसरी सहमत भए ? यसको वैज्ञानिक जवाफ खोज्नै पर्छ ।
वस्तुगत मुल्यांकन गर्दा शान्ति सम्झौतायता दशक बढी पार्टीमा माक्र्सवादी वैचारिक स्कुलिङ नगराउनु, पार्टी निकट वैचारिक–राजनीतिक प्रकाशनहरु बन्द गराउनु, वैचारिक काममा रुची राख्नेहरुप्रति ठाडो उपेक्षाभाव, कार्यकर्ता ब्यवस्थापनमा संस्थागत पहल नलिनु, पार्टी हैसियत दुरुपयोग गरेर धन लुट्ने नेताहरुलाई छुट दिनु, सम्भ्रान्तवर्गीय जीवनशैली र रक्तसम्बन्ध प्राथमिकता तथा नोवेल पुरस्कार आशक्ति जस्ता श्रृंखलाबद्ध आचरणहरु नै मुख्य जिम्मेवार छन, जसले प्रचण्डलाई पुष्पकमल दाहालमा कुण्ठित गरिदियो । सर्वहारा प्रवृतिले पार्टीभित्र धेरै प्रश्न उठाइयो, संघर्ष गरियो । तर यी यावत जघन्य क्रियाकलापमाथि अंकुश लागेन ।
परिणाममा प्रचण्ड समूह मालेमाको विचारबाट निर्लज्ज पलायन भयो । फेरी पनि इतिहासको सही मुल्यांकन गर्नुपर्छ । पुँजीवादी गणतन्त्रसम्म प्रचण्डको योगदानको सम्मान गर्नुपर्छ । एमालेकृत गुटभित्र प्रचण्ड–बादललाई अस्थिर वामपन्थीको रुपमा लिन सकिन्छ ।







