
एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले देखाएकाे बाटाेबाट साम्यवाद अाउने दाबी गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरेका हुन् ।
मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उदघाटन गर्दैै उनले यस्ताे दाबी गरेका हुन् ।
ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।
उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंसनीय भएपनि काठमाडौंको सडक निर्माणमा भइरहेको ढिलाई सबैको टाउको दुखाईको विषयमा बन्ने गरेको पनि स्मरण गराए ।
कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव छ ।
बरिष्ठ नेता नेपालले वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार हुन नदिने विश्वास ब्यक्त गरे ।







