माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले पनि जनमुक्ति सेना निर्माण गरेर जाने बताएकाे छ ।

साे पार्टीकाे युवा संगठन क्रान्तिकारी युवा लिगले यस्ताे बताएकाे हाे । लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन अाकाशले यस्ताे बताएका हुन् ।

क्रान्तिकारी माअाेवादीकाे मुखपत्र मानिने मूलबाटाेसँगकाे कुराकानीमा अाकाशले क्रान्तिका लागि तीन साधनमध्ये जनमुक्ति सेना चाँहिने भन्दै उनले पार्टीले निर्देशन दिए सेना बनाएर जाने बताएका छन् ।

उनीसँगकाे कुराकानीकाे सम्पादित अंशहरू –

क्रान्तिकारी युवा लिगले युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणलाई तीब्रता दिइरहेको छ, के मिलिट्यान्ट संगठन बनाउन लागेको हो ?

–अहिले युवाहरुलाई राजनीतिक रुपमा सही बाटो पहिल्याउन र वैचारिक रुपमा स्पष्ट बनाउनु क्रान्तिकारी युवा लिगको दायित्व हो । सही राजनीति भन्नाले यो समाजमा भएका उत्पीडन अन्त्य गर्नु र राष्ट्रमाथि भइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध आफ्ना आवाज उठाउनु र त्यसका विरुद्ध संघर्ष गर्नु हो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिका सुनिश्चित गर्नु हो । अतः अर्धसामन्ती, अर्धउपनिवेशीक र नवउपनिवेशीक अवस्थामा रहेको हाम्रो देश नेपाललाई यो अवस्थाबाट मुक्त गर्ने कुरा हो र मजदुर, किसान र उत्पीडित जनसमुदायको राज्य ब्यवस्था स्थापना गर्नु हो । त्यसैले दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गका विरुद्धमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु रहेको छ । त्यसैले मजदुर, किसान र उत्पीडित जनसमुदायले राजनीतिमा नेतृत्वदायी भुमिका सहित सहभागी भई आफ्नो अधिकारका लागि आन्दोलनमा अघि बढ्नु पर्दछ । यो मालेमावादी दृष्टिकोण, मालेमावादी संगठन विना सम्भव छैन ।

मालेमावादलाई बुझ्ने, यसको रक्षा गर्ने, प्रयोग गर्ने र विकास गर्ने पार्टी वा संगठनले मात्र क्रान्तिको कार्यभार पुरा गर्न सक्छ । त्यसैले क्रान्तिकारी संगठनले मालेमावादी दर्शनलाई जनता र युवासम्म पु¥याउनु पर्दछ । त्यसकारणले हाम्रो संगठनले वैचारिक र राजनीतिक रुपले युवाहरुलाई प्रशिक्षित गर्न प्रशिक्षण आयोजना गरेका छांै । युवाहरु स्वयममा बलिया र मिलिट्यान्ट हुन्छन् तर आफ्नो वर्ग दुश्मन चिनेन भने उसको उर्जालाई प्रतिक्रीयावादीले दुरुपयोग गर्दछ । सही विचार र राजनीति विना युवा, जनसमुदाय भ्रममा हुन्छ र बल भएर पनि कुनै काम आउँदैन । अर्को कुरा विचार सही छ तर त्यसलाई रक्षा, प्रयोग र विकासका लागि भौतिक शक्तिको आवश्यक पर्दछ । त्यसैले मिलिट्यान्ट संगठन विना विचार लंगडो हुन्छ । हाम्रो पार्टीले अवलम्बन गरेको जनविद्रोहको कार्यदिशा लागु गर्न केही युवालाई मात्र मिलिट्यान्ट बनाएर पुग्दैन बरु आम क्रान्तिकारी युवा तथा जनसमुदायलाई मिलिट्यान्ट बनाउन जरुरी छ । हाम्रो क्रान्तिकारी युवा लिग आफैमा मिलिट्यान्ट संगठन हो तर यो फौजी संगठन होइन । हाम्रो संगठनले चलाएको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रम मुख्यत वैचारिक, राजनीतिकस्तरलाई उठाउने र क्रान्तिकारी युवाहरुलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन र पार्टीलाई र नेतृत्वलाई आउने भौतिक थ्रेतलाई प्रतिरोध गर्ने वातावरण बनाउनुसंग रहेको छ । स्वस्थ व्यक्तिले नै सही विचार ग्रहण गर्न र त्यसलाई सफलताका साथ लागु गर्न सक्दछ । त्यसैले यो प्रशिक्षणको ध्येय भनेको मानसिक र शारीरिक तन्दुरुस्त हुनेसंग जोडिएको प्रश्न हो ।

 तपाईहरुले गरेको शारीरिक प्रशिक्षणलाई राज्य प्रशासनले हस्तक्षप गर्न खोजेको समाचार पनि बाहिर आएका थिए । के यो साँचो हो ?

–हाम्र्रो संगठनको प्रदेशस्तरको प्रशिक्षण संचालनमा आइरहेको छ र पहिलो प्रशिक्षण ३ नं. प्रदेशको मकवानपुर हर्नामाडीको गुुम्बा डाँडामा ०७४ फागुण २७ देखि चैत्र २ गतेसम्म संचालन गरेका थियांै । उक्त प्रशिक्षणमा स्थानीय प्रहरी प्रशासनले माथिको आदेश भन्दै शारीरिक प्रशिक्षणलाई रोक्न बल गरेको थियो । हाम्रो केही लट्ठी प्रहरी प्रशासनले कब्जामा पनि लिए । यो प्रशिक्षणलाई गलत ढंगले फौजी प्रशिक्षणको रुपमा दुष्प्रचार गर्ने प्रयत्नलाई हाम्रो प्रतिरोध र सञ्चार माध्यमको सहयोगबाट असफल बनाइयो । यसैक्रममा हामीले २ नं. प्रदेशको सिराहामा ०७४ चैत्र २३ देखि २७ गतेसम्मको प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेका छौं । अन्य प्रदेशमा पनि युवा जागरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने क्रममा छौं ।

पार्टीको तीन जादुगरी हतियार निर्माणसंग युवाहरुको शारीरिक प्रशिक्षण कतिको सम्वन्धित छ ?
–क्रान्तिका तीन जादुगरी हतियार मध्ये एक क्रान्तिकारी पार्टी हो, दुई सेना हो र तीन संंयुक्त क्रान्तिकारी मोर्चा हो । क्रान्तिकारी पार्टीले तीन जादुगरी हतियार निर्माण नगरी क्रान्ति गर्न असम्भव प्रायः हुन्छ । त्यसैले तीनैवटा अंगमा युवालाई समावेश गर्नु पर्ने हुन्छ विशेषतः सेनामा युवाको आवश्यकता बढी हुन्छ । हाम्रो संगठन क्रान्तिकारी युवा लिग नेपाल क्रान्तिकारी पार्टीको जनवर्गीय संगठन हो जुन मिलिट्यान्ट त हुन्छ तर सैन्य संगठन होइन । क्रान्तिकारी पार्टीको हरेक क्याडर पार्टीको योजना र क्षमता अनुशार नटवोल्ट सरी प्रयोगमा ल्याईनु पर्दछ । अर्को, पार्टीका प्रत्येक क्याडरको काम कर्तब्य सांगठनिक, राजनीतिक र संघर्षका काममा नियमित लागि पर्नु हो । त्यसैले युवा संगठनका प्रत्येक क्याडर क्रान्तिका तीन जादुगरी हतियार मध्ये जुनसुकै जिम्मेवारी लिएर आप्mनो भुमिका निर्वाह गर्न सक्दछन् । जहाँसम्म युवाको शारीरिक प्रशिक्षणको कुरा हो, हामीले हाम्रो कार्यदिशा अनुशार हाम्रा युवालाई मात्र प्रशिक्षण दिएर पुग्दैन आम जनसमुदायलाई पनि शारीरिक प्रशिक्षण दिनु पर्दछ जो उत्पीडनका विरुद्धमा अधिकारका लागि संघर्ष गर्न चाहन्छन् । माक्र्सवादको मुल मन्त्र बल प्रयोगको सिद्धान्त भएको कारणले पनि क्रान्तिमा युवाहरुको भुमिका अनिवार्य र क्रान्तिकारीलाई शारीरिक रुपमा तन्दुरुस्त राख्नु कुनै नौलो कुरा होइन । युवा संगठनले गरेका यस्ता प्रशिक्षण सैन्य संगठनले गरेका तालिमसंग जोडेर हेर्नु पनि गलत हुन जान्छ । पार्टीले आवश्यक ठानेमा जनमुक्ति सेना नै निर्माण गर्नेछ ।

विगत जनयुद्ध र जनआन्दोलनमा होमिएको युवाहरु लगायत जनसंख्याको एक तिहाई जनसंख्या अहिले विदेशीएको छ । विदेशमा रहेका युवाहरु र उनीहरुको क्षमतालाई नेपालको नयाँ जनवादी क्रान्तिमा कसरी सदुपयोग गर्न सकिन्छ ?

–विगत जनयुद्ध र जनआन्दोलनमा लागेका युवाहरु आज रोजगारीको खोजीमा विदेश जान बाध्य हुुनु दुःख र लाजमर्दोे कुरा हो । क्रान्ति भइसक्यो भन्नेहरुका लागि यो ठुलो झापड हो । अर्को देशको एक तिहाई जनसंख्या वैदेशिक रोजगारीमा छन । वैदेशिक रोजगारको मूल कारण समाजमा रोजगारीको अवसर ज्यादै कम भएर वेरोजगारी, अर्धवेरोजगारी र छदम् वेरोजगारी व्याप्त हुनु हो जुन समाजमा विद्यमान श्रम शक्तिलाई उत्पादनशील कार्यमा उपयोगमा ल्याउन नसक्नु हो । अब नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाधक र बेरोजगारी समस्याको जरो यहाँको सामाजिक उत्पादन प्रणालीमा नै अन्तरनिहीत भएको कारण अर्धसामन्ती, अर्धऔपनिवेशीक र नवऔपनिवेशीक अवस्थालाई बदलेर उत्पादनका साधन माथिको स्वामित्व उत्पीडित जनसमुदायमा पु¥याउनु पर्दछ । जुन नयाँ जनवादी क्रान्ति मार्फत हुन्छ । युुवाहरु अहिले रोजगारीको खोजीमा विदेश पलायन हुनु सही होइन र विदेशमा रहेका युवाहरु स्वदेशमा फर्किनु पर्दछ । विदेशमा नै रहेको अवस्थामा साम्राज्यवादी उत्पीडनका विरुद्ध आवाज उठाउने र संगठित हुनु पर्दछ । अर्को आफु रहेको देशमा हुने अग्रगामी आन्दोलनमा सरिक हुनु पर्दछ । त्यसको साथै आफ्नो देशमा हुने राष्ट्रिय मुक्ति आन्दोलन र सर्वहारा वर्गीय मुक्ति आन्दोलनलाई नैतिक र आर्थिक सहयोग जुटाउन पहल गर्नु पर्दछ । विद्यमान सामाजिक व्यवस्थाले विदेशमा गएर रोजगार गर्ने युवाहरुको समस्यालाई समाधान गर्न सक्दैन, त्यसकारण विदेशमा रहेका युवाहरु पनि यो प्रतिक्रियावादी समाजलाई बदल्ने आन्दोलनमा सहभागी हुन बाध्य हुनेछन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु अहिले विकराल अवस्थामा छन् । प्राकृतिक जलसम्पदादेखि मानवीय श्रोत साधनसम्म विदेशीलाई सुम्पेर प्रतिक्रियावादीहरुले विकास र समृद्धिको भ्रम छरिरहेका छन् ती भ्रमहरुलाई चिर्दै समस्याको वास्तविक समाधानका लागि क्रान्तिकारी युवाहरुको भुमिका कस्तो हुनु पर्छ ?

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समाधान सर्वहारा वर्गको पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिद्वारा नै सम्भव हुने हो । यहाँको श्रोत साधन विदेशीलाई सुम्पने भनेको दलाल तथा नोकरशाही पुँजीलाई बढावा दिने र औद्योगिक पुँजीलाई ध्वस्त बनाउने हो । उत्पादक शक्तिलाई उत्पादनशील कार्यमा लाउन नसक्नु र कच्चा पदार्थलाई सस्तो मुल्यमा विदेश निर्यात गर्नु भनेको औद्योगिक पुँजी ध्वस्त बनाउनु हो । भएका राष्ट्रिय उद्योगहरुलाई निजीकरण गर्ने देशका श्रोत साधन बहुराष्ट्रिय कम्पनीलाई सुम्पने कामबाट स्वास्थ्य, शिक्षा, गाँस, वास र कपासको समस्या झन बिकराल बन्ने छ । अर्धसामन्ती, अर्धउपनिवेशीक र नवउपनिवेशीक मुलुकमा विकाश र समृद्धि भ्रम मात्र हुन । यी भ्रमलाई चिर्न क्रान्तिकारी युवा सर्वप्रथम आफै वैचारिक, राजनीतिक रुपमा स्पष्ट हुनु पर्दछ । युवाहरु विद्रोहको लागि तयारी अवस्थामा रहनु पर्दछ र त्यसको लागि आम रुपमा संगठन विस्तार गर्नु पर्दछ र प्रतिरोधका लागि शारीरिक रुपले पनि तन्दुरुस्त हुनु पर्दछ । त्यसका लागि व्यायाम तथा प्रशिक्षणको कार्यक्रम कार्यकर्ता र जनताको तहसम्म पु¥याउनु पर्दछ ।

अन्तमा छरिरहेका क्रान्तिकारी युवाहरुलाई एकीकृत र ध्रुवीकृत गरी नयाँ जनवादी क्रान्तिमा सहभागी गराउन सकिने आधार र सम्भावना के कस्तो देख्नु हुन्छ र आमूल परिवर्तनको सपना देखिरहेका आम युवाहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?

नेपाली जनता जहिले पनि अग्रगामी आन्दोलनको पक्षमा रहेको पाउँछांै । केही समय कम्युनिष्टको साइनवोर्ड राखेका संशोधनवादीले भ्रम त दिन सक्छन तर क्रान्तिलाई रोक्न सक्दैैनन् । नेपालमा भएको दशवर्शे जनयुद्धको विचार र राजनीति मरेको छैन, मात्र कमजोर भएको हो । जनयुद्धमा गोला वारुद वोक्ने र पड्काउने हात नेतृत्वको गद्दारीले निराश भएको र नेतृत्व नपाएको मात्र हो । जव आन्दोलन अगाडी बढ्छ त्यसवेलामा उनीहरुको हात चुप लागेर बस्ने छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार