
एक वर्ष अघिसम्म जनवादी सत्ताका लागि जनमुक्ति सेना निर्माणका लागि चर्काे क्रान्तिकारी कुरा गर्ने रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा विप्लव नेतृत्वकाे नेकपाकाे कार्यलार्इ अाफुले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।
अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल-कोरिया मैत्री अस्पतालमा पुगेका गृहमन्त्री बादलले यस्तो चेतावनी दिएका हुन् ।
‘अब जनसत्ता व्युँताउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम ढंगले नियन्त्रण गर्छ,’ उनले भने,’कुनै पनि आतंकको नियन्त्रण गर्न सरकार प्रतिवद्ध छ ।’
थापाले घुमाउरो भाषामा विप्लव नेतृत्वकाे नेकपालाई आतंकारी गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । उनले स्थायी सरकार गठन भएको स्मरण गराउँदै केही तत्वहरु अहिले कम्युनिष्ट एकता भाँड्न लागेको बताए ।
थापाले कम्युनिस्ट एकता भाँड्न विभिन्न कोणबाट आतंक फैल्याउने काम भइरहेको भन्दै मेयरमाथिको आक्रमण पनि त्यसैको एक कारण भएको बताए ।
मेयर श्रेष्ठलाई भेटेपछि संक्षिप्त कुराकानी गर्दै उनले नेकपा एमाले र माओवादीबीचको एकता प्रक्रिया सबै टुंगिएको प्रष्ट पारे । अब एकताको मिति घोषणा हुन मात्र बाँकी रहेको थापाले बताए ।
रामबहादुर थापा बादलले विप्लव नेतृत्वकाे नेकपाप्रति जे अभिव्यक्ति दिए, त्याे उनकाे प्रतिक्रियावादी पतनकाे छलाङकाे रूपमा विश्लेषकहहरूले टिप्पणी गरेका छन् ।







