नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टरार्इले केपी अाेली पपुलिज्मकाे खाेल अाेढेर नवफासीवादी बन्न पुगेकाे गंभीर अाराेप लगाएका छन् ।
एक दैनिक पत्रिकासँगकाे कुराकानीमा बाबुरामले अाेलीकाे फासीवादी चरित्रले देशलार्इ ठूलाे क्षति मात्र पुग्ने बताएका छन् ।
एक छुट्टै प्रसँगमा नयाँ शक्तिका नेता भट्टरार्इले एमाले र माअाेवादी केन्द्र पूरानै ढर्राबाट अगाडि बढ्न खाेजेकाे भन्दै त्यसले देशकाे निकास नदिने बताएका छन् ।

बाबुरामसँगकाे कुराकानीकाे संक्षिप्त अंश-
ओलीले विषयगत रूपमा मौलाउँदै गएको डरलाग्दो पपुलिज्म (लोकप्रियतावाद) को खोलमा आएको नवफाँसीवादी प्रवृत्तिको प्रतिनिधित्व गरिरहनुभएको छ।
अमेरिकामा ट्रम्प, रूसमा पुटिन, भारतमा मोदी, चीनमा सी जिनपिङलगायत टर्कीमा रिस्प टेयिप एरडोगान सबैले आफ्नो मुलुकलाई महान् बनाउने नाममा चरम राष्ट्रवादको खोलभित्र राजनीतिक स्वार्थपूर्ति गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ। ओलीले पनि उनीहरूकै पदचिन्ह पछ्याइरहनुभएको जस्तो लाग्छ। त्यसको चुनावी लाभ त पाउनुभएको छ। तर दीर्घकालीन रूपमा यसले नेपालभित्र आन्तरिक एकता तथा शान्तिलाई फाइदा पुर्याउने म देख्दिनँ। बाह्य मुलुकसँगको सम्बन्ध राष्ट्रिय हितअनुकूल नहुने खतरा म देख्छु।
उहाँले भारत र चीन भ्रमण गरेर सन्तुलित सम्बन्ध बनाउँछु भने पनि चिन्तनमा देखा परेको चरम अतिवादी सोचले न आन्तरिक रूपमा राष्ट्रिय एकता कायम हुन्छ न त दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध नै कायम हुन्छ। हालैको भारत भ्रमणका क्रममा उहाँले भारतीय शासकहरूसँग कुनै आन्तरिक समझदारी गरेको पनि हुन सक्छ। उहाँ निकै खुसी भएर फर्कनुभएको छ। तर अन्तर्राष्ट्रिय कूटनीति त्यसरी चल्दैन। आगामी दिन कसरी जान्छ पर्खेर हेर्नुपर्छ।
तपाईं वामपन्थी एकताबाट किन पछि हट्नुभयो नि ?
माओवादी (माओवादी केन्द्र), एमाले, नयाँ शक्ति समूह र समाजवादी फोरम चारवटा पक्ष मिलेर नयाँ ढंगको समाजवादी शक्ति बनाऊँ भन्ने प्रस्ताव मैले राखेको थिएँ। आन्तरिक रूपमा हुन्छ भन्ने थियो। तर बाह्य रूपमा दुई पार्टीले पुरानै ढंगबाट अघि बढ्ने निधो गरे। त्यसमा हाम्रो चित्त बुझेन। अहिले एमाले र माओवादी एक ठाउँमा आएर पार्टीको आकार त ठूलो होला तर वैचारिक रूपमा कुनै नयाँपन पनि छैन।
पुरानै ढंगको कम्युनिस्ट पार्टी एक ठाउँमा भेला हुँदैमा नेपालको समस्याको हल पनि निस्कँदैन। त्यही भएर हामी बाहिरिएका हौं। म अहिले पनि वामपन्थी हुँ, म अहिले पनि माक्र्सवादी हुँ तर हिजो हामीले माओवादको नाममा सर्वहारा वर्गको अधिनायकत्व स्वीकार गथ्र्यौं। अहिलेको बदलिएको परिस्थितिले कुनै वर्गको एकल वर्गीय अधिनायकत्वले त्यो प्रकारको लोकतन्त्रको अभ्यास गर्दैन भन्ने घटनाक्रमले पुष्टि हुँदै आएको छ, त्यसलाई सच्याएर बढ्नुपर्छ।







