नेकपा एमालेका नेता माधव कुमार नेपालले अाफ्नाे पार्टीमा पार्टी एकता गर्नेबारे एमालेमा कुनै समस्या नरहेकाे भन्दै बरू समस्या प्रचण्ड र माअाेवादी केन्द्रकाे व्यवस्थापनमा रहेकाे बताएका छन् ।
अनलाइनखबरसँगकाे कुराकानीमा एमाले नेता नेपालले अब अाउने अासन्न महाधिवेशनबाट प्रचण्डलार्इ पार्टी अध्यक्ष बनाउनेबारे ठाेस ग्यारेन्टी गर्न सकिने प्रष्ट पारे ।
नेपालसँग गरिएकाे कुराकानीकाे सानाे अंश –

माओवादीले भनेजस्तो ५०/५० चाहिँ तपाईले ठाडैं अश्वीकार गर्नुभएको हो ?
पचास/पचास त हाम्रो केन्द्रीय कमिटीले र पार्टी अध्यक्षले प्रष्ट भनिसक्नुभएको छ, त्यो हुँदैन । उहाँहरुले पनि पचास/पचास नै मागेको जस्तै लाग्दैन । त्यसरी भन्नुभएको छैन ।
केन्द्रीय कमिटीमा पनि हामीले सबै पक्ष हेर्नुपर्छ । मेरो जोड के छ भने मान्छे हेरौं । सबैजना नेकपाको मान्छे भएपछि सबैभन्दा योग्य, समक्ष मान्छे हेरेर केन्द्रीय कमिटी बनाउनुपर्छ । को एमाले, को माओवादी भन्ने नै रहँदैन नि एकीकरणपछि त ।
माओवादीको चासो त्यसोभए के मा रहेछ त ?
त्यस्तो उहाँहरुको प्रष्ट केही थाहा भएको छैन ।
एमालेमै मिलेको छैन भन्ने प्रचण्डको ब्रिफिङ रहेछ नि ?
एमालेमा सबै कुरा मिलेको छ । एमालेमा समस्या छैन । एमालेमा द्वीविधा पनि छैन । मैले त्यसैले मुख खोल्नुपर्ने समयनै आएको छैन । अहिले एमालेमा समस्या नै छैन । अध्यक्षले भनेको कुरा अनुसार नै मैले बुझिरहेको छु ।
त्यसोभए प्रचण्डको व्यवस्थापनले एकता रोकिएको भनेर बुझ्दा सही हुने भयो होइन ?
होइन । सबै नेताहरु हामीजस्ता पार्टी हाँकेर आएका नेताहरुको व्यवस्थापन हुने बारेमा अवश्य छलफल गर्नुपर्छ । कसैको पनि भविष्य असुुरक्षित गर्ने भन्ने हुँदैन । व्यक्ति कुनै एक जनाको कुरा होइन, व्यवस्थापन सबैको हुनुपर्छ ।
महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष निश्चित गर्ने र अहिले कार्यकारी भूमिका चाहिँ उहाँलाई नै दिनुपर्ने शर्त पनि आएको हो माओवादीबाट ?
हामीसमक्ष औपचारिक रुपमा त्यस्तो कुरा आएको छैन । निश्चित गर्नुपर्ने कुरा उहाँसँग (ओली) भनेको हो भने थाहा छैन । क-कसको पदको एस्योर गर्नुपर्ने हो, गरौं । तर, महाधिवेशनले अध्यक्ष बनाउने कुरा अहिले एस्योर गर्न सकिन्न ।
महाधिवेशनका बारेमा केही पनि भन्न सकिन्न । कोही पनि व्यक्ति उठ्न पाउँदैन भनेर कसले भन्ने ? जुन-जुन नेताबीच त्यस्तो आकांक्षा छ, सबै नेताहरुको व्यवस्थापनको बारेमा टुंगो लगाउनुपर्छ ।
क-कसको एस्योर गर्न बाँकी छ, त्यो मलाई थाहा छैन । एकजनाको मात्र एस्योर गरेर हुन्छ ? अरुको कुरा उठ्यो भने के गर्ने ? अरु नेताचाहिँ द्वारपाले हुन् ? यो कुरा त उठ्छ नि । महाधिवेशनमा उठ्ने कुरा अहिले कसरी एस्योर होला र ?
आउँदो महाधिवेशन त सहमतिकै आधारमा गर्ने भनिसक्नु भयो नि होइन र ?
महाधिवेशन त प्रतिस्पर्धा गरे पनि सहमतिबाट हो, नगरे पनि सहमतिबाट हुन्छ ।







