एमाले–माओवादीको एकीकरणमा चीनभन्दा एक कदम अघि बढेर दक्षिणको छिमेकी मुलुक भारत सक्रिय भएकोे रहस्य विस्तारै खुल्न थालेको छ ।

यी दुई पार्टीबीचको एकीकरणका लागि नेपाल मामिलाका भारतीय रणनीतिकारहरू गम्भीर ढंगले जुटेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा सल्लाहकार टिममा रहेका एक सदस्यले रहस्य खोलेका छन् । मेघालय, आसामको सुरक्षा रणनीति हेर्ने जिम्मा पाएका उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग लामो समयदेखि निकट छन् ।
अरुण तेस्रो खारेजी तथा महाकाली सन्धि ताकादेखि उनीहरूको सम्बन्ध प्रगाढ बनेको हो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै एकीकरणको गम्भीर प्रयासमा भारतीय रणनीतिकारहरू जुटेका हुन्, समाचार स्रोतले बतायो । यसको कारण खोल्दै उनले भने, ‘एकीकरण भएन भने भारतका कारण भएन भनेर प्रचार गरिन्छ ।’
समाचार स्रोतका अनुसार भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल मामिलासम्बन्धी रणनीतिकारहरूलाई यस विषयमा गम्भीर ढंगले कुरा उठाएका थिए । ‘तपाईहरू नेपालका कम्युनिस्ट पार्टीहरूसँग सम्बन्ध सुधार होस् भन्ने चाहनु हुन्छ, तर पार्टी एकीकरण नगर्न प्रचण्डलाई दबाब पनि दिनु हुन्छ, यो दोहोरो चरित्र किन ?’
प्रत्युत्तरमा भारतीय रणनीतिकारहरूले भनेका थिए– ‘तपाईको भ्रमणअघि नै पार्टी एकीकरण गराउँदा भारतले गराइदिएको सन्देश जान्छ, जुन सन्देश प्रत्युत्पादक हुन सक्छ, तपाईहरूका लागि भारत एकीकरणको पक्षमा छैन भन्ने सन्देश जाँदा नै राम्रो हुन्छ ।’ भारतीय रणनीतिकारहरूको यो उत्तरपछि ओलीले प्रशन्नता व्यक्त गरेका थिए ।
यता, पार्टी एकीकरण गर्ने, तर यो एकीकरणमा भारतीय संलग्नता छ भन्ने गन्धसमेत नदिने गरी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घनीभूत छलफल अघि बढाएका छन् । विगत दुई दिनदेखि यी दुई अध्यक्षहरूको अधिकांश समय यही घनीभूत छलफलमै बितिरहेको छ ।
माओवादी अध्यक्ष प्रचण्डलाई भारतीय दूतावासबाट सिधै टेलिफोन आएपछि डेढ महिनाअघि अवरुद्ध भएको पार्टी एकीकरण प्रक्रिया पुनः सुचारु गर्ने सहमति प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुभन्दा केही दिनअघि भएको थियो । त्यतिबेला वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ऐतिहासिक दिन पारेर विशाल आमसभा आयोजना गरी पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । आमसभाका लागि मञ्च व्यवस्थापन तथा राजधानी बाहिरबाट मान्छे आसोर्नका लागि बसको प्रबन्धसमेत गरिएको समाचार प्रवाह गरिएको थियो । यी दुई पार्टीबीच एकीकरण हुने नै भयो भन्ने टुंगोमा सर्वसाधारणसमेत पुगेका थिए ।
तर एकाएक माओवादीले कडा सर्त अघि सारेका कारण वैशाख ९ गते एकीकरण नहुने समाचार प्रवाह भयो । प्रचण्डले ‘जनयुद्ध’लाई सम्मान गर्नुपर्ने, एकीकृत पार्टीको कार्यकारी अध्यक्ष आफैं हुनुपर्ने, केन्द्रदेखि स्थानीय तहसम्म बराबरी प्रतिनिधित्वका आधारमा कमिटीहरू निर्माण गर्नुपर्ने, चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा नै हुनुपर्ने सर्त अघि सारे । यो सर्तलाई एमालेले स्वीकार गरेन । एमालेले पार्टीको हैसियतअनुसारको प्रतिनिधित्व हुनुपर्ने अडानलाई दोहो¥यायो । यो भनेको पार्टी एकीकरणका लागि निकै ठूला गाँठो थियो ।
तर भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तय भएलगत्तै एकाएक यो गाँठो फुक्न लागेको छ । आफ्ना सर्तप्रति लचिलो बन्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भारतीय लाइन आइसकेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपाल मामिलासम्बन्धी भारतीय रणनीतिकारहरूको भनाइ छ– ‘नेपालमा एउटै मात्रै कम्युनिस्ट पार्टी बन्नु र त्यो पार्टी हाम्रो पक्षमा हुनु भनेको हाम्रा लागि ऐतिहासिक उपलव्धि हुनेछ, यो उपलव्धि चुक्न दिने पक्षमा हामी छैनौं ।’ यसअघि प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आफूहरू कम्युनिस्ट नभएको, नाम मात्रै कम्युनिस्ट रहेको पुष्टि गर्न करिब २० मिनेट खर्चिएका थिए ।
पहिलो चरणमा ओलीलाई साथ दिएको अनुभूति दिलाउँदै माओवादीलाई विलयकै शैलीमा पार्टी एकीकरण गराउने र दोस्रो चरणमा पार्टीभित्र ओलीलाई अल्पमतमा पारी बार्गेनिङ सुरु गर्ने रणनीति भारतीय बुद्धिजीवीहरूको छ । पार्टी एकीकरण नगरी ओलीलाई अल्पमतमा पार्न नसकिने प्रतिवेदन दूतावासस्थित ‘रअ’ को ब्युरोले दिएपछि त्यहीअनुसारको अभियानमा चुनावअघि नै भारतीय रणनीतिकार लागेको समाचार स्रोतले जनाएको छ ।
भारतीय रणनीतिकारहरूको यो अभियानप्रति एमाले अध्यक्ष ओली बेखबर भने छैनन् । उनले माओवादीभित्रका करिब ३० प्रतिशत नेता तथा संसदहरूलाई आफ्नो पक्षमा तानिसकेका छन् । उनीहरू यतिबेला ओलीको अघि पछि लाग्दै विना सर्त पार्टी एकीकरणका लागि आफ्नै अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् ।
प्रचण्डका तमाम कमजोरीको फेहरिस्त खाल्तीमा हालेर आफू बसेको बताउँदै एमाले अध्यक्ष ओलीले आफ्ना निकटस्थहरूसँग भन्ने गरेका छन्– ‘प्रचण्डलाई कार्यकर्ताविहीन बनाउने थुपै्र कार्ड मसँग छन्, एकीकरणपछि पार्टी प्रचण्डको हातमा पुग्छ र हामी कमजोर हुन्छौं कि भन्ने कल्पना तपाईहरूले नगर्दा हुन्छ ।’
प्रचण्डले तत्कालका लागि कार्यबाहक अध्यक्ष र एकीकरणपछि हुने महाधिवेशनमा आफ्नाविरुद्ध कोही उम्मेदवार नहुने लिखित ग्यारेन्टी खोज्न छाडेका छैनन् । तर पछिल्लो चरणमा प्रचण्डको यो माग यसअघिका अन्य माग जस्तै कमजोर बन्दै गइरहेको छ ।







