एमाले र माअाेवादी केन्द्रले अाफ्नाे लक्ष्य वैज्ञानिक समाजवाद नभएकाे मात्र हाेइन अाफुहरू नाम मात्रकाे समाजवादमा समेत जान नसक्ने बताएकाे छ ।

यी दुर्इ पार्टीले अाफ्नाे संयुक्त दस्तावेजमा यस्ताे कुरा उल्लेख गरेका छन् ।

मार्क्सवाद र लेनिनवादकाे अाधारभुत प्रस्थापनाअनुसार वैज्ञानिक समाजवाद कम्युनिस्टहरूकाे अाधारभुत कार्यक्रम हाे । तर एमाले र माअाेवादी केन्द्रले वैज्ञानिक समाजवादलार्इ अस्वीकार गरेका छन् र बहुदलवादी समाजवाद स्वीकार गरेका छन् ।

यसबाट के प्रष्ट हुन्छ भने एमाले र माअाेवादी केन्द्रले भन्ने गरेकाे समाजवाद नक्कली समाजवाद हाे भन्ने देखाउछ ।

यी दुर्इ नामधारी कम्युनिस्टले कसरी समाजवाद भनेर दस्तावेजमा लेखेका छन् र उनीहरूकाे कार्यक्रम के हाे भन्ने कुरा उनीहरूकाे दस्तावेजमा टेकेर मुल्यांकन गर्न सकिनेछ ।

समाजवादमा अहिल्यै जान सकिन्न !

एमाले-माओवादीको संयुक्त दस्तावेजले समाजवादी क्रान्ति अहिले नै हुन नसक्ने ठहर गरेको छ । समाजवादमा फड्किनुअघि विशिष्ट राजनीतिक कार्यदिशा चाहिने उनीहरुको तर्क छ । त्यो अन्तरिम विशिष्ट कार्यदिशा कार्यान्वयन भइसकेपछि समाजवादमा जानका लागि अर्कै कार्यदिशा चाहिने बताइएको छ ।

‘रणनीति, कार्यनीति र राजनीतिक कार्यदिशा’ उपशीर्षकमा संयुक्त दस्तावेजमा भनिएको छ- सामन्तवाद मूलतः अन्त्य भई नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको र पुँजीवादी जनवादी क्रान्ति आधारभूतरुपले सम्पन्न भएको हाम्रो निचोडले नयाँ ऐतिहासिक चरणमा सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति वा जनताको जनवादी क्रान्ति सम्पन्न गर्ने रणनीति वा आम राजनीतिक कार्यदिशमा परिवर्तनको माग गर्छ । यसले तत्कालीकरुपमा दिशानिर्देशित गर्ने विशिष्ट राजनीतिक कार्यदिशाको माग गर्दछ ।’

तत्कालीक कार्यादिशाको आवश्यकताबारे दस्तावेजमा थप व्याख्या गर्दै भनिएको छ- ‘आधारभूतरुपले पुँजीवादी जनवादी क्रान्ति सफल भइसकेकाले हामी आमरुपमा समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेका छौं । तर, अहिले नै हामी समाजवादमा संक्रमण वा रुपान्तरण गर्ने, समाजवादी कार्यक्रम लागू गर्ने, समाजवाद निर्माण गर्ने वा समाजवादी क्रान्ति सम्पन्न गर्ने तहमा पुगेका छैनौं ।’

अब के गर्ने त ?

बहुमतप्राप्त वाम सरकार स्थापना भइसकेको भएता पनि अहिले नै समाजवादमा जान सकिँदैन भने आखिर के हो त अबको ‘विशिष्ट राजनीतिक कार्यदिशा’ ? साझा दस्तावेज यसको व्याख्या गर्दै भनेको छ- ‘हामीले सामन्तवादका अवशेषहरुको उन्मूलन, जनवादी व्यवस्थाको सुदृढीकरण, र समाजवादका आधारहरु तयार गर्ने आजको विशेष चरण सुहाउँदो राजनीतिक कार्यदिशा र नीतिहरु तर्जुमा गर्नुपर्दछ ।’

र, दस्तावेजले अगाडि भनेको छ, ‘समाजवादको आधार तयार भइसकेपछि समाजवादमा रुपान्तरणका लागि यो विशिष्ट राजनीतिक कार्यदिशा परिवर्तन गर्नुपर्ने हुन्छ ।’

‘समाजवादको आधार’ कति वर्षमा तयार भई सक्छ ? के वाम सरकारको पहिलो कार्यकालमै समाजवादको आधार तयार हुन्छ ? कि अर्को चुनावपछिसम्म कुर्नुपर्छ ? यसबारेमा एमाले र माओवादीले केही पनि बोलेका छैनन् ।

बहुदलीय समाजवाद !

एमाले र माओवादी केन्द्रले दुबैले अबको समाजवाद बहुदलीय हुने बताएका छन् । अबको समाजवादको बाटो के हो ? यसबारे चर्चा गर्दै दस्तावेजमा भनिएको छ- ‘हाम्रो समाजवाद प्रजातान्त्रिक समाजवाद होइन । यो सोभियत मोडेलको समाजवाद पनि होइन । अबको समाजवादमा बहुदलीय प्रणालीलाई अवलम्वन गरिनेछ ।’

समाजवादी क्रान्तिको मोडेलबारे थप व्याख्या गर्दै भनिएको छ- ‘हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्न चाहन्छौं । हाम्रो विशिष्ट सन्दर्भमा त्यो सम्भव छ । हाम्रो संविधानले समाजवादप्रति प्रतिवद्धता जाहेर गरेको छ ।’

अनलाइनखबरले प्रकाशित गरेकाे प्रकाशित दस्तावेजकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार