बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । त्यो कार्यक्रम चलिरहँदा विप्लवलाई पार्टी विभाजन गराउने एक सूत्रधारका रूपमा प्रस्तुत गरिएको थियो ।

०६९ असार ५ मा प्रचण्डसँग डिभोर्स गर्दै वैद्य नेतृत्वमा बादल, विप्लवलगायतका नेता बुद्धनगरतिर लागेका थिए ।

त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए । पार्टी गठन भएको दुई वर्षसम्म क्रान्तिका लागि कुनै पहलकदमी हुन नसकेको आरोप विप्लवको थियो ।

नेतृत्व यथास्थितिमा फसेको र फुटको औचित्य पुष्टि गर्न नसकेको आरोप लगाउँदै विप्लव पार्टीबाट बाहिरिए । उनले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाए ।

वैद्य र बादललाई छाडेर हिँडेपछि विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । थवाङमा महाधिवेशनको बन्दसत्र भयो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखे ।

विप्लवले एकीकृत क्रान्तिको कार्यदिशा लिएका छन् । विभिन्न फौजी काम गरेर यो पार्टी चर्चामै छ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजको नारासहित प्रदेशसभा र प्रतिनिधिसभा चुनाव बहिष्कार गरेको थियो ।

विप्लव पार्टीको बहिष्कार सामान्य थिएन, सकेसम्मको कोसिस ग¥यो । दर्जनौँ ठाउँमा चुनाव विरोधी गतिविधि ग¥यो । यो पार्टीले चुनाव भाँड्न कतै बम पड्कायो, कतै चुनावी सभा र अभियानलाई अवरोध गर्न खोज्यो ।

तर, विप्लव पार्टीका कारणले चुनाव रोक्नुपर्ने अवस्था आएन । यो पार्टीले चुनावमा जे जति बम पड्कयो, त्यसको औपचारिक जिम्मा लिएन । बरु, जनताले गरेको प्रयत्न मात्र भन्यो ।

प्रशासनले नेपाल कम्युनिस्ट पार्टी धेरै नेता–कार्यकर्ता पक्राउ ग¥यो । यसैबीच मङ्सिर १० र २१ गरी दुई चरणमा चुनाव सम्पन्न भयो ।

अहिले विप्लवमाथि वारेन्ट छ । उनको घरमा पक्राउ पुर्जी टाँस भएको छ । उनी भूगित अवस्थामा छन् । केन्द्रीय नेता अर्धभूमिगत  शैलीमा काम गरेका छन् । उनीहरूका पछिल्ला गतिविधिले सरकार र यो पार्टीबीच तनावको स्थिति सिर्जना भएको छ ।

तर, सरकारले दमन गरेको भन्दै यस्तो मुद्दामा वैद्यले विप्लवको साथ दिने गरेका छन् ।

वैद्य–विप्लवको पुनर्मिलन सम्भव होला ?

वैद्य–विप्लव बेलाबेला नजिक देखिन्छन् । जसको कारण वैद्य र विप्लव नेतृत्वको पार्टीबीच एकताको चर्चा पनि हुन्छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव वैद्यले उपयोग गरे र विप्लवले बहिष्कार । उपयोग गरेका वैद्यले प्रदेश र प्रतिनिधिसभामा एक ठाउँ पनि चुनाव जितेनन् । बहिष्कार गरेका विप्लवले पनि ठाउँठाउँमा बम पड्काउनेबाहेक चुनावै नै अवरोध गर्न सकेनन् ।

चुनावपछि दुवै पार्टी नजिक भए । अब वैद्यको पनि हैसियत चुनावी नतिजाले उजागर ग¥यो । त्यसपछि एक्लै केही गर्न सकिन्न भन्ने महसुुस दुवै पार्टीलाई भएको देखिन्छ ।

चुनावसम्म जेसुकै भए पनि यी दुई पार्टीबीच पार्टी एकताका लागि सघन संवाद भएका छन् । यद्यपि एकताले मूर्त रूप लिन्छ कि लिँदैन, त्यसबारे अहिले नै भन्न सकिने अवस्था चाहिँ छैन ।

बूढाहरूले क्रान्ति गर्न सक्दैनन् भन्दै गएका विप्लव पुनः बुढाहरूसगै काँधमा काध मिलाउने सोचमा छन् । विप्लवसँग पार्टी एकता भयो भने वैद्यले एक पटक पुनर्मिलनको अनुभव लिनेछन् ।

वविता शर्माले राताेपाटीका गरेकाे रिपाेर्टिङकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार