माेहन वैद्य नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी)ले सीमा अतिक्रमणका विरूद्ध अान्दाेलनमा उत्रेका अाफ्ना नेता कार्यकर्तालार्इ सरकारद्धारा गरिएकाे पक्राउका विरूद्ध घाेर भर्त्सना गरेकाे छ ।

साे पार्टीका प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणको विरोधमा मशाल जुलुसहित गरेको विरोध प्रदर्शनमाथि गरिएको प्रहरी दमनको घोर विरोध एवम् भत्र्सना गरेका छन् ।

साथै ओली सरकारले भारतीय विस्तारवादको नाङ्गो दलाली गर्न राष्ट्रवादी शक्तिमाथि यसरी दमन गरेको प्रवक्ता प्रतीककाे दाबी रहेकाे छ ।

बिहीबार साँझ जारी गरिएको वक्तव्यमा भनिएको छ, “कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको विरोधमा कञ्चनपुर पार्टीले मसाल जुलससहित गरेको विरोध प्रदर्शनमाथि भएको प्रहरी हस्तक्षेप र नेता कार्यकर्ताको गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । र, गिरफ्तार गरिएका पार्टीका जिल्ला सेक्रेटरीसहितका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गर्दछ ।”

वक्तव्यमा भनिएको छ, “दिनदिनै भारतीय पक्षबाट सीमा अतिक्रमण भइरहँदा राज्यस्तरबाट त्यसको विरोध गरिनुपर्ने स्थितिमा जनस्तरबाट भएको विरोधमाथि समेत दमन गरेर ओली नेतृत्वको सरकारले भारतीय विस्तारवादको नाङ्गो दलाली गरेको प्रष्ट रुपमा देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको नेपाल भ्रमणको मिति नजिकिदै जाँदा सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा वलको ज्यादती अझ बढेर गएको छ ।”

थप विज्ञेप्तीमा भनिएकाे छ, ”कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं. ९ बिचफाटमा सीमा पिल्लर नम्बर १९४ रहेको स्थानमा कञ्चनपुरका स्थानीयले बाली जोगाउन लगाएको विद्युतीय तारबार समेत भारतीय प्रहरीले उखेलेर फालेका छन् । भारतीय प्रहरीको उक्त दादागिरीविरुद्ध स्थानीय जनताले जारी राखेको विरोधप्रति ऐक्यवद्धता जनाउँदै एसएसबीको यस्तो ज्यादतीबाट सीमाका नेपाली नागरिक आजित र असुरक्षित हुनुपर्ने घटनाहरु बढिरहँदा समेत ओली नेतृत्वको सरकार चुँसम्म नबोल्नुले मुलुकको राष्ट्रियता गम्भीर खतरामा रहेको प्रष्ट हुन गएको छ । र, ओली नेतृत्वको सरकारबाटै मुलुकको राष्ट्रियता असुरक्षित हुन पुगेको देखिन गएको छ ।”

देशकाे यस्ताे संगीन घडीमा सिंगो राष्ट्र र स्वाभिमानी नागरिक मुलुकको राष्ट्रिय स्वाधीनता तथा सर्वाभौमिकताको रक्षाका निम्ति एकजुट भएर उठ्न जरुरी छ भन्दै हाम्रो पार्टी सबै देशभक्त, प्रगतिशिल तथा क्रान्तिकारी शक्तिहरुलाई राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति सशक्त आन्दोलनमा अाउन वैद्य माअाेवादीले अाव्हान समेत गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार