अाफ्ना नेता कार्यकर्ताहरूकाे गिरफ्तारी र झुठ्ठामुद्धाका विरूद्ध नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको नेपाल बन्दको कारण विहानैदेखि सडक सुनसान बनेका छन् ।

नेकपाकाे बन्दका कारण राजधानी काठमाडौंसहित विराटनगर, हेटौंडा, नेपालगंज, धनगढीसहित ठूला शहर सुनसान छन् । विहानैबाट खुल्ने पसलहरु बन्दै नै छन् भने सडकमा एम्बुलेन्स, तरकारी, दूधका गाडी मात्रै देखिएका छन् ।
काठमाडौंबाट देशका विभिन्न स्थानमा छुट्ने लामो दुरीका सवारी यातायातका साधनहरु पनि बन्द नै छन् । बस पार्कमा सुनसान छन् ।
विहानै चितवनको भण्डारामा शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट मानविय क्षति भने नभएको स्थानीयले बताएका छन् ।
त्यसैगरी बन्दका कारण सुनसान बनेको कैलालीका विभिन्न स्थानहरुमा बम विस्फोट भएका विवरण अाएका छन् । सात नम्बर प्रदेशको राजधानी धनगढीको चौराहासहित बजारभित्रै दुई ठाउँमा बम विस्फोट भएका छन् । कैलालीकै गौरीगंगा नगरपालिकामा बम विस्फोट भएको स्थानीयले कमर थारुले जानकारी दिएका छन् । थारुका अनुसार अाज विहानै ठूलो विस्फोटको अावाज अाएको थियो ।
त्यस्तै मध्यरात लमजुङको मर्स्याङ्ग्दी गाउँपालिकास्थित मध्यरातमा भारतीय जिएमअार कम्पनीको कार्यालयको भवनमा बम बिस्फोट भएको छ । विस्फोटबाट कार्यालमा क्षति पुगेको छ ।
बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले देशभर मशाल जुलुस निकालेका थिए । सोही क्रममा प्युठान र बाग्लुङ इन्चार्जसहित दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अाफ्नो पार्टीमाथि शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर सरकार फसिवादी बाटोमा हिडेको भन्दै नेकपाका महासचिव विप्लवले विज्ञप्ति निकालेर नेपाल बन्दको घोषणा गरेका थिए ।
शान्तिपूर्ण राजनीतिक गतिविधिमा रहेका नेताहरुलाई सरकारले गिरफ्तार गरेर वेपत्ता बनाएको भन्दै विप्लवले गिरफ्तार सबै नेता-कार्यकर्ताको रिहाइको माग समेत गरेका छन् ।







