उनको जन्मको दुई शताब्दी र मृत्युको १३५ वर्ष पूरा भयो। उनले लेखेको कम्युनिष्ट घोषणा पत्रको आयु नै १७० वर्ष पुगिसक्यो। तै पनि अझै कार्ल मार्क्स जनमानसमा बहस उत्पन्न गरिरहेका छन्।

वर्गसंघर्ष, पूँजीवाद, अतिरिक्त मूल्य, क्रान्ति, सर्वहारा अधिनायकत्व, निजी सम्पत्तिको अन्त्यजस्ता विषयमा अझै विद्वानहरु तर्कवितर्क गरिरहेका छन्। उनी सही थिए वा गलत, त्यसलाई पुष्टि गर्न मानिसहरु अझै घुँडा धसेर लागिरहेका छन्।

५ मे १८१८ मा जर्मनीको पश्चिमी सहर ट्रायरमा जन्मेका थिए कार्ल मार्क्स। त्यसबेला १२ हजार जनसंख्या भएको ट्रायर नगर अहिले १० गुणा बढिसकेको छ। आफ्नो वयष्कावस्था पेरिस, ब्रसेल्स र लण्डनमा बिताएर हाइगेट चिहानमा अन्तिम विश्राम लिएका मार्क्स ट्रायर नगरमा जन्मेका सबैभन्दा प्रसिद्ध व्यक्ति हुन्। त्यसैले जन्मको दुई सय वर्षपछि आफ्नै नगरमा उनको पुनरागमन भएको छ।

मार्क्स जयन्तीको एक साताअघि उनले १७ वर्ष बिताएको ट्रायरमा उनको १८ फिट अग्लो सालिक ठड्याइएको छ, जसको अनावरण शनिबार गरिनेछ। यो सालिक उनकै परिवारको पुरानो घरअघि राखिएको छ।

चीनको उपहार

बीसौँ शताब्दीको दर्शन र राजनीतिमा सबैभन्दा ठूलो प्रभाव पारेका मार्क्सको सालिक भने चीनले उपहार दिएको हो। जसलाई बनाएका हुन्, चिनियाँ कलाकार वु वेइसानले। सालिकमा हातमा पुस्तक लिएका सोचमग्न मार्क्स देखिन्छन्।

तर चीनबाट यो उपहार स्वीकार गर्ने कि नगर्ने भन्ने विषय निकै विवादित भयो। त्यसका लागि नगर परिषदमा चुनावै भयो। अन्ततः ४९ सदस्यीय नगर परिषदका ४२ सदस्यले उपहार स्वीकार्नुपर्ने पक्षमा मत दिए।

‘कार्ल मार्क्स ट्रायरको सबैभन्दा प्रसिद्ध पुत्र हुन्,’ नगरका एक कर्मचारी आन्द्रेस लुड्विग भन्छन्।

मार्क्सको जन्म जयन्तीमा ट्रायर नगरले उनको सालिक मात्रै अनावरण गर्ने छैन। सो नगरले मार्क्सको द्विशतवार्षिकीमा ६ सय ओटा कार्यक्रम आयोजना गर्दैछ। सो नगरले गत मार्चदेखि नै ट्राफिक बत्तीमा मार्क्सको आकृति प्रयोग गरिरहेको छ।

मार्क्सको आकृति भएका विभिन्न वस्तु बिक्रीमा राखिएका छन्। मार्क्सजस्तै देखिने दुई दाह्रवाल व्यक्तिले कार्यक्रमहरुमा प्रस्तुति दिनेछन्।

सहरका मेयर वोल्फ्राम लाइब यसलाई मार्क्सको कामको पुनर्मूल्यांकन गर्ने अवसर पनि ठान्छन्। कतिपयले पूर्वी जर्मनीसहित विश्वका समाजवादी शासन व्यवस्थाका खराबीहरुको दोष मार्क्सलाई दिने गरेका छन्।

कतिपयले चिनियाँ पर्यटक बढाउन सो नगरले चीनबाट सालिक उपहार लिएको आरोप लगाएका छन्। तर मेयर लाइब ट्रायर भ्रमण गर्ने वार्षिक ५० लाख पर्यटकमध्ये १ प्रतिशत मात्र चिनियाँ भएको बताउँछन्।

एकाथरि विद्वानहरुले सोभियत संघको पतनपछि विश्वमा समाजवादी ध्रुवको अन्त्य भएको र अब मार्क्सको स्थान इतिहासको फोहोर फाल्ने भाँडो मात्रै भएको बताएका थिए।

तर पछिल्लो दशकमा चुलिएको आर्थिक संकट र असमानतासँगै फेरि आर्थिक तथा प्राज्ञिक वृत्तले मार्क्सको सान्दर्भिकता अझै नसकिएको स्वीकार्न थालेको छ। कतिपयले राजनीतिक हतियारका रुपमा मार्क्सवाद अझै जीवित रहेको तर्क गरिरहेका छन्।

यस्तो सालिकका रुपमा मार्क्सको घरफिर्ती अझ प्रासंगिक बन्न पुगेको छ।

विभिन्न एजेन्सीहरूका अाधारमा नेपालखबरले तयार पारेकाे रिपाेर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार