
केपीकाे लम्पसारवाद, राष्ट्रघात र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अतिक्रमणकारी हस्तक्षेपका विरूद्ध वैशाख ३० गते आइतबार नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।
सो पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको अपिल गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ ।
महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ–
‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’
अाेलीकाे लम्पसरवाद र माेदीकाे अतिक्रमणकारी हस्तक्षेपका विरूद्ध केही संघ संगठनहरुले गरेकाे प्रतिवाद र प्रतिरोधलार्इ नेकपाले सम्मान र समर्थन गरेकाे कुरा महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।








