
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रमणमा एउटा खुला पर्चा अपिल जारी गरेकाे छ ।
मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश अाेलीद्धारा साे पर्चा जारी गरिएकाे हाे ।
नेकपा मध्य कमाण्डद्धारा जारी गरिएको उक्त पर्चा राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न ठाउँमा दशौं हजार पर्चा वितरण गरिएको नेकपा श्रोतले जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमा पनि पर्चा वितरण गरिएको छ ।
जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप भएको कुरामा जोड दिइएको छ ।
यस्तै भारतसँग विभिन्न समयमा भएका असमान सन्धी–सम्झौताहरु यथाशिघ्र खारेज गर्नु पर्ने भन्दै हालै भारतीय पक्षबाट गरिएका सिमाअतिक्रमणको विषयमा एक हुन सबै राष्ट्रवादी, देशभक्तहरुलाई आह्वान गरिएको छ । उक्त पर्चामा भारत सरकारद्वारा त्यहाँका माओवादीहरुमाथि गरिएको दमन तत्काल बन्द गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
नेपाली प्रधानमन्त्री केपी ओली भारत भ्रमण गएको एक महिनामै दुई दिने भ्रमणको लागि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । मोदीको उक्त भ्रमण धार्मिक भएको बताइए पनि उनको भ्रमण राजनैतिक एवं कुटनैतिक भएको प्रष्ट देखिन्छ ।
०७२ सालको विनाशकारी भुकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दी र उसको हेपाह प्रवृत्तिले गर्दा भारतप्रति नेपालीहरुको जनआक्रोस बढिरहको बेला उनले यो भ्रमणमा सम्बन्ध सुधारको कोशिस गरिरहेका छन् ।








