विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अरुण तेश्रो शिलन्यास लगायत राष्ट्रघातको विरुद्ध शनिबार दिउसो २ बजे काठमाडौंमा विरोध प्रदर्शन गरेकाे छ ।

कालो व्यानरसहित सुनधाराबाट शुरु भएको विरोध जुलुस खिचापोखरी हुदै नयाँ सडकसम्म पुगेको थियो । व्यानरमा राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, भारतीय साम्राज्यवाद मुर्दावाद, दलाल ओली सरकार मुर्दावाद लेखिएको थियो । विरोध प्रदर्शन भइरहेकोबेला जुलुस दायाँबाँयाका स्थानीय जनताले ताली बजाएर स्वागत तथा समर्थन गरेका थिए ।

मोदीको सामु नेपाली प्रधानमन्त्री लम्पसार परेको, भारतीय सैनिकलाई नेपालमा परेड खेलाएको लगायतका राष्ट्रविरोधी गतिविधिले नेपाली राष्ट्रियतामाथि गम्भिर खतरा उत्पन्न गराएको भन्दै सो पार्टीले विरोध प्रदर्शनको आयोजना गरेको हो ।

जुलुसको नेतृत्व नेकपाकी पोलिट ब्यूरो सदस्य शिलुले गरेकी थिइन् । यस्तै बिहान मकवानपुरको हेटौडाबाट काठमाडौं आउदै गरेका नेकपा समर्थक स्थानीय जनतालाई प्रहरीले फर्पिङमा पक्राउ गरेको छ ।

यसैबीच मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले पनि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सो पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेल लगायत दुई दर्जन भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको रत्तपार्कबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार