नेपाली राजनीतिक शब्द बजारमा लम्पसारवाद आजकाल धेरै प्रचलित शब्द हो । नेपाल र नेपाली जनताको स्वाभिमान र सार्वभौम सत्ताका विपरीत आफ्नो निहित स्वार्थका लागि विदेशी प्रभुहरूसँग घुँडा टेक्ने प्रवृत्तिलाई लम्पसारवाद भनियो र धेरै नेपालीले त्यसलाई मन पराए ।
लम्पसारवादी को–को हुन् भनेर लामो बहस भयो । यसको ठीक विपरीत राष्ट्रवाद आयो । सयभन्दा बढी जात जाति भएको मुलुकमा एक भाषा, एक भेष, एकल जातीय हैकम भएको राष्ट्रवाद आयो साम्प्रदायिक रूपमा । धेरैलाई भ्रम प¥यो यही नै पो सही हो कि ? खासमा लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद विपरीत प्रवृत्ति नभएर एउटै सिक्काका दुई पाटा थिए भनेर बुझ्न अब कठिनाइ नहोला ।
लम्पसारवादले देखिने गरी विदेशी शासकहरूसँग कुर्सीको मोलमोलाई गरिरहेको हुन्छ भने साम्प्रदायिक राष्ट्रवादले आन्तरिक एकतालाई सुदृढ हुन नदिएर प्रकारान्तरले विदेशी चलखेललाई नै मद्दत गरिरहेको हुन्छ । विदेशी पाहुनालाई स्वागत गर्नु र तलुवा चाट्नु फरक फरक कुरा हुन् । स्वागत परस्परहितमा हुन्छ भने तलुवा चाट्नु उसकै सेवामा समर्पित हुन्छ । गतिशील राष्ट्रवादले, स्वाभिमानी राष्ट्रवादले शिर ठाडो पारेर, आँखा जुधाएर ढुक्कसँग आफ्नो कुरा राख्छ । आज नेपाललाई भारतको एक प्रान्तको जस्तो व्यवहार गर्न जो खोजिँदैछ यो लज्जा सरनमको विषय हो ।
हुन त नेपाल कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश भएन तर आधुनिक नेपाल बने यता पूर्ण रूपमा स्वाधीन पनि बनेन् । बन्न दिइएन । उहीले विदेशी राजदूतहरू मन्त्रिपरिषद् वैठकमै सहभागी हुन्थे, गराइन्थ्यो रे त्यो पनि देश बनाउने नाममै । अहिले कर्मचारीतन्त्र, सुरक्षा निकाय र राजनीतिक पार्टीका महाधिवेशनमा समेत उतैको लिस्ट भोटरहरूको बीचमा वितरण गरिन्छ रे । हामीले भोगिरहेको अवस्था नवऔपनिवेशिक हो । प्रत्यक्ष हेर्दा स्वाधीन, व्यवहारमा पराधीन । यही हो नवऔपनिवेशिकको मुख्य विशेषता ।
आधुनिक वा पुरातन जे नामले पुकारे पनि हामीले ढुक्कसँग भन्न सक्नुपर्छ, हाम्रो देश स्वाधीन र सार्वभौम सत्ता सम्पन्न देश हो, यहाँको शासन हामीले गर्न पाउनुपर्छ । थाइल्यान्ड, बैङ्कक, सिङ्गापुर वा अन्यत्र उपचार गर्न वा घुम्न जे नामले सम्बोधन गरे पनि अँध्यारो कोठामा कुर्सीको मोलमोलाई गर्ने प्रवृत्तिको अन्त्य नगरी देश बन्दै बन्दैन । देखिने लम्पसारवाद भन्दा लुकेर गरिने लम्पसारवाद बढी खतरनाक हुन्छ ।
राताेखबरमा व्यक्त विचारकाे सम्पादित अंश ।







