नेपालबन्दको क्रममा डाेल्पामा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालार्इ विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताकाे नेतृत्वमा जनताले प्रहरीमाथि आक्रमण गरेर छुटाएर फिर्ता गरेका छन्।

बन्दको सिलसिलामा आइतबार पक्राउ परेका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि नेकपा कार्यकर्ता र जनताले आक्रमण गरी सोमबार छुटाएर लगेका छन्।
नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो।
सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा नेकपा कार्यकर्ताकाे नेतृत्वमा आएका जनताकाे समुहले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरीले स्वीकार गरेकाे ।
आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ।
सागर शाहीसहित बन्दका क्रममा पक्राउ परेका नेकपाका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छाडिसकेको थियो।







