नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन् ।

आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल भएको र नेपालको हितमा भएको बताएका थिए। उक्त भनाईमा एमालेकै उपाध्यक्ष रावलले असहमति जनाएका हुन्।
रावलले मोदीलाई भ्रमणलाई अहिले नै सफल र नेपालको पक्षमा भएको भन्न नसकिने टिप्पणी गरेर आफ्नै अध्यक्ष ओलीलाई चुनौती दिएका छन् । एमालेमा योगेश भट्टराईले अध्यक्ष ओलीलाई चुनौती दिँदै आएकोमा पछिल्लो समय रावल पनि अध्यक्षका गलत कामको विरोध गर्नेमा थपिएका छन् ।
यसअघि ओली भारत भ्रमणमा जाँदा पनि रावलले भ्रणण उपलब्धीमुलक नभएको भन्दै आलोचना गरेका थिए। उनले चीनको बोआओ फोरम छाडेर भारत गएको भन्दै असन्तुष्टि नै जनाएका थिए।
सोमबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपाध्यक्ष रावलले भारतले यो गरिदिने, उ गरिदिने भनेर आश्वासन दिँदैमा भ्रमण सफल भएको भन्ने गरिएकोमा कार्यान्वयनमा नगएसम्म सफल भन्न नसकिने आसय व्यक्त गरे। प्रतिबद्धता र सम्झौता कार्यान्वयनमा भारतले सधै आलटाल गर्दै आएको सम्झिदै रावलले यसै विषयमा भ्रमण सफल भए नभएको प्रष्ट हुने तर्क गरे।
उनले नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न भारतलाई समेत सचेत गराए।
नेपाल भारतबीचका समस्या समाधानका लागि विगतमा पनि भएका मौखिक र लिखित सम्झौता कार्यान्वयन नभएकोप्रति उनले असन्तुष्टी जनाए ।
“आजसम्ममा कतिपय गर्छु भनेका कुरा गरिएको छैन । जलविद्युत, सडक, पञ्चेश्वर, हुलाकी मार्ग, महाकाली सन्धी लगायतका सम्झौता पूरा भएका छैनन् ।” उनले भने ।
“विराटनगरमा रहेको भारतको अनधिकृत कार्यालय हट्नुपर्छ भन्नु विरोध हो ? भारतीय जनता पार्टीका सासंद किर्ते आजादले जनकपुर भारतको हो भनेर बोल्दा समर्थन गर्ने ?” रावलले प्रश्न गरे ।
आजादको अभिव्यक्तिबारे भारत सरकारले बोल्नुपर्ने रावलको भनाई छ । नेपाल र भारतबीचको सम्बन्ध समानताका आधारमा हुनुपर्ने उनको ठहर छ ।







