सल्यानमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले ३ जना मेयरसहित १३ जनप्रतिनिधिमाथि कारवाही गर्ने सूची बाहिर ल्याएको छ ।

नेकपा सल्यानले स्थानीय तहमा निर्वाचित भएपछि जिम्मेवारीमा रहेर भ्रष्टाचार र लुट मच्चाएको कारण देखाउँदै १३ जनासँग तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनतासामू माफी माग्न अपिल गरेको छ ।
नेकपाका जिल्ला जनपरिषद् प्रमुख प्रतीकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुपिण्डे नगरपालिका मेयर गोविन्द पुन, बाघचौर नगरपालिका मेयर लोकमान बुढाथोकी र शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीलाई भ्रष्टाचार गरेको रकम फिर्ता गर्न र आगामी दिनमा जनविरोधी क्रियाकलाप नगर्ने प्रतिवद्धता जाहेर गर्न आग्रह गरिएको छ ।
उनीहरुले नक्कली बिल पेश गरेर रकम खाएको दाबी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै सिद्ध कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर चलाउने, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी र कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनलाई पनि भ्रष्टाचारीको आरोप लगाउँदै रकम फिर्ता र जनताका विरुद्ध हर्कत नगर्न चेतावनी दिइएको छ ।
जनताको बिचमा खडा भएर आफूले गरेको भ्रष्टाचार रकम र अपराध स्वीकार गरेर माफी मागेर जनपक्षीय निर्णय लिइएमा सच्चिने र सुध्रिने मौका दिइने पनि प्रमुख प्रतीकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।








