
क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्यले अण्डरलाइन नेपाल कम्युनिष्ट पार्टीलाई सुधारवादी तथा पश्चगामीहरुबीचको एकता भनेर टिप्पणी गरेका छन्।
वैचारिक रुपमा एकै ठाउँमा आइपुगेका तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको वैद्यको ठम्याई छ। तर, कम्युनिष्ट पार्टीहरुको एकता र २००६ सालमा स्थापना भएको नेकपाको उत्तराधिकारी भनेर प्रचार गर्नु ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने जस्तो भएको उनले बताए।
प्रचण्डका राजनीतिक गुरु वैद्यले प्रचण्डमा पछिल्लो समय आएको विचलनले आफूलाई दुःखी बनाएको टिप्पणी गरे।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु माओवादी सशस्त्र संघर्षकै देन भएको वैद्यको बुझाई छ।
वैद्यले एमाले र माओवादीबीचको एकता कति टिक्छ भन्ने कुरा नेताहरुको स्वार्थ र जोड घटाउमा भर पर्ने बताए। सैद्धान्तिक वैचारिक पक्ष गौण भएपछि ब्यक्तिगत स्वार्थ र पदीय भागबण्डाकै आधारमा एकता अगाडि जाने वा नजाने निर्धारण हुने उनको ठम्याई छ।
‘उनीहरु सत्तामा बस्न बानी परेका छन्। सत्ताका लागि जे सुकै गर्न तयार हुन्छन्। विचार मिलेपछि सत्ता स्वार्थ र पदीय भागबण्डा मिलेसम्म फुट्ने सम्भावना रहँदैन। तर, भागबण्डा नमिलेपछि के हुन्छ भन्न सकिंदैन’ उनले भने।
पार्टी एकतापछि नेकपाका नेताहरुमा दम्भ देखिएको वैद्यले गुनासो गरे। साना वामपन्थी पार्टीहरुलाई एकता प्रक्रियामा सामेल हुन नेकपाका नेताहरुले गरेको आह्वान ‘दम्भि मानसिकता’ भएको वैद्यको टिप्पणी छ।
‘पार्टी आकारमा सानो वा ठुलो भन्ने हुँदैन, सही वा गलत के हो वैचारिक पक्षले निर्धारण गर्छ।’ वैद्य भन्छन्।







