०७५ काे जेठ ३ गते देहवसान हुन पुगेको प्रचण्ड माअाेवादी केन्द्रको विगतका दुईवटा पाटाहरू रहेका छन् ।

पहिलो पाटोमा नेपाल कम्युनिस्ट पाटी (माओवादी) को नेतृत्व गरेका प्रचण्ड, किरण, बाबुराम र रामबहादुर थापा (बादल) ले गरेका थिए । त्यो माओवादीले नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याइदिएको थियो । २ सय ४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त त गरेको थियो, नेपालका सबै उत्पीडित वर्ग, जाति, महिला, दलितहरूलाई आफ्नो अधिकारको बोध गराउँदै सबै खाले शोषण, दमन र उत्पीडनका विरुद्ध लड्न सिकाएको थियो ।
उसले राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने माक्र्सवादी मान्यतालाई द¥होसँग समातेर नयाँ जनवाद स्थापना गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य किटान गरेको थियो । वैज्ञानिक साम्यवादको सुन्दर र रोमाञ्चित सपनालाई विपनासम्म पुग्ने स्पष्ट बाटो कोरेको थियो । त्यसैले त दश वर्षकै दौरानमा नेपालजस्तो थोरै जनसंख्या भएको र आकारमा सानो देशमा पनि ८ हजार ५ सय ९४ जनाले जनयुद्धका लागि भनेर आफ्नो अमूल्य जीवन न्यौछावर गरेका थिए । हजार जना बेपत्ता हुन पुगे र हजारौँको संख्याका योद्धाहरूले अंग गुमाएका थिए ।
हजारौँको संख्यामा नै घरबारविहीन हुन पुगेका थिए । यत्रो त्याग, बलिदान र समर्पण हुँदा पनि जनयुद्धमा लामबद्ध नेता, कार्यकर्ता, जनतामा कहिल्यै निराशा, कुण्ठा, हीनताबोध पलाएन । बरु “बलिदान क्रान्तिको ऊर्जा हो” भन्दै सहिदमार्गका यात्रीहरूको अनन्त लामबद्धता थियो । त्यो अवधिमा भोक, निंद्रा र थकाइ कुन चराको नाम हो, थाहा थिएन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्ड–बाबुराम–बादलहरूबाट मात्र धोका भएको होइन । हतियारबद्ध संघर्षहरू भीमदत्तको किसान विद्रोह र झापा विद्रोहमा पनि धोका भएको थियो । धोकाका प्रकृति भने फरक थिए ।
केही नेताहरूले क्रान्ति गर्ने भन्ने तर कुनै तयारी नगरेर धोका दिएका थिए । नेपाली क्रान्तिको स्पष्ट कार्यदिशा बनाउन नसकेर र अर्को क्रान्तिकारी भुल्काहरूलाई संरक्षण गर्ने, हुर्काउने र बढाउनेभन्दा पनि तुरुन्तै संशोधनवादी हुने, वैचारिक बहसको नाममा ‘उग्रवामपन्थी भडकाव’ मा भ्रष्टीकरण गर्न पुग्ने प्रवृत्ति देखियो ।
यसरी एकातिर धोकाधडी र अर्कोतिर शंकाको भुँमरीमा परेको नेपालको क्रान्तिकारी आन्दोलनले नयाँ कार्यदिशा र प्रतिबद्धताको माग गरेको थियो । त्यसैले जनयुद्ध सुरु गर्दा ७ बुँदे प्रतिबद्धता गरिएको थियो । यसको सुरुमा भनिएको थियो “जनयुद्धलाई जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइनेछैन ।”
क्रान्तिकारी कार्यदिशा निर्माण र प्रतिबद्धताका कारणले नेपाल आमाका असल सन्तानहरूले आफ्नो जीवन त्याग्नसम्म तयार भएका थिए । क्रान्तिकारी कार्यदिशा, उच्च त्याग, बलिदान र समर्पणले जनयुद्धले छोटै समयमा विकास गरेको थियो ।
यसको अर्को पाटो भनेको २०६३ सालपछिको त्यही माओवादी, २०६५ सालमा बन्न पुगेको एकीकृत माओवादी र २०७३ सालको माओवादी केन्द्र र त्यसको अवसान अवधि दस वर्षका मूल्य–मान्यता, उपलब्धिको ¥हास र वैचारिक राजनीतिक स्खलन रह्यो । यही अवधिमा प्रचण्डको नायकत्व खलनायकीमा परिणत भएको थियो ।
यही अवधि हो विश्व हल्लाउने, नयाँ विश्व जन्म दिने जनयुद्धको अन्त, त्याग, बलिदान र समर्पणमाथि कुठाराघात, सहिदको रगतसँग होली, मुख्य नेतृत्वमा पद, पैसा, प्रतिष्ठा र परिवारवादको निकृष्टता र अन्तमा गएर माक्र्सवाद–लेनिनवाद–माओवादको परित्याग र नेपाली कम्युनिस्ट आन्दोलनको फोहरमैलाको मूल प्रवाहसँगको समागम ।
विप्लव नेतृत्व नेकपा नेता गुणराज लाेहनीकाे राताेखबर साप्ताहिकमा प्रकाशित लेखकाे सानाे अंश ।







