जेलबाट जेलमुक्त भएका माअाेवादी नेता बालकृष्ण ढुंगेलले अाफु बाँजुञ्जले जनताकाे गणतन्त्र र मुक्तिका लागि लडिरहने बताएका छन् ।
जेलमुक्त भएपछि ढुंगेलले यस्ताे बताएका हुन् । आफुले गणतन्त्र माग्दा जेलमा सडाउने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि मालिक बनेर आफुलाई गिरफ्तार गरेर जेलमा सडाउने कोसिस गरेको ढुंगेलले बताए ।
उनले आफ्नो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे । “म मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ” ढुंगेलले भने । उनले जनयुद्धमा ज्यान गुमाउने शहिदहरुले देखाएको सपना पुरा गर्न आफु लागिपर्ने ढुंगेलले बताए ।
“बालकृष्ण ढुंगेलकै जस्तो न्याय बलात्कार गरेर अपराधी कसैलाई पनि नबनाइयोस् । म सम्मान गर्छु उहाहरुको इजलासलाई, मलाइ अहिले सर्बोच्च अदालतमा मानहानिको मुद्दा छ । मैले हजारौं पटक बोले होला म बालकृष्ण ढुंगेल राजनीतिक योद्धा हु । म राजनीतिक आन्दोलनमा समाहित थिए । दश बर्षको जनयुद्धमा जति पनि घटनाहरु घटे, ति पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन् मेरा कुरा हैनन् । तर नत पत्रकार मित्रहरुले ति कुराहरुलाई लेखि दिनुभयो । न न्यायाधिशहरुले मिसिल पढि दिनुभयो । न वकिल मित्रहरुले बहस गरि दिनुभयो । सबैलाई चाहिदो रहेछ एक थाल भात, त्यो पनि मिठो स्वादको ! सबैलाई चाहिँदो रहेछ एक गिलास रक्सि त्यो पनि निकै ठूलो ब्रान्डको ! मैले भात खुवाउन सकिन होला, मैले रक्सि पिलाउन सकिन होला । त्यसकारणले मेरो समाचार, समाचार बनेन्” ढुंगेलले भावुक हुँदै भने ।
सहिदहरुको रगत बेचेर खानु नपरोस् भन्दै ढुंगेलले भने, “शहिदहरुको रगत बेचेर खान नपरोस्, शहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुका भावनामा लात हान्दै ठगेर खान नपरोस् । जबसम्म यो धर्तीमा म बालकृष्ण जीवित रहन्छु । कसैलाई ठगे भनेर मैले आत्मगलानी भएर चाही स्लिपिङ् ट्याब्लेटसंग मेरो जिन्दगी साट्न नपरोस् ।”
ढुंगेलले सम्बोधनको अन्तिमा आफू फेरि जनताको लागि लड्न तयार रहेको भन्दै त्यसको लाग आफ्ना आट र पाप जाच्ने मेसिनमा बस्न तयार रहेको बताए ।
“आज मुटु बिरामी जाच्ने मेसिन रहेछ, किड्नी बिरामी जाच्ने मेसिन रहेछ, तर आट जाच्ने मेसिन आएको दिन म त्यो मेसिनमा बस्न तयार छु । पाप जाच्ने मेसिन एक्सरे आयो भने म त्यो मेसिनमा बस्न पनि तयार छु । झुपडी र आगन छैन । मर्दा पोल्ने चिहान छैन । अझै हामी श्रमिकहरुको झुल्के घामको बिहान छैन । अनबरत त्यही बिहानीको निम्ति लडिरहनुहुने सम्पूर्ण आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी अभिबादन गर्दै म पनि तपाइहरुसंगै अनबरत लडिरहनेछु, जबसम्म यो माटोमा ज्युदो रहनेछु” उनले भने ।







