नेपाल कम्युनिस्ट पार्टीमा दुई ठूला नेताले पार्टीभित्र विद्रोह सुरु गरेका छन् । पार्टीका पुराना नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचनले पार्टीको विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै लिखित असहमति राखेका छन् । उनीहरुले आफूलाई दिएको स्थायी आमन्त्रित सदस्य पद समेत अस्वीकार गरेका छन् ।

तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका बोहराले आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण मागेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखी ‘तपाईसँगै महाधिवेशनको हलबाट निर्वाचित म आज किन केन्द्रीय कमिटीबाट हटाइएँ ?’ भनी प्रश्न गरेका छन् ।

बोहराले आफू महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, अनुशासन आयोगको अध्यक्ष र पदेन स्थायी कमिटी सदस्य रहेकाले आमन्त्रित सदस्य नबन्ने प्रष्ट पारेका छन् । उनले पार्टीको विधानसमेत बिगारिएको भन्दै आपत्ति जनाएका छन् ।

विधानमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीले कारवाही गर्न सक्ने जस्ता आपत्तिजनक बुँदाहरु राखिएको र धेरै ठाउँमा मनपरी गरिएकाले आफूले असहमति जनाएको बोहराले बताए । केही नेतालाई बलियो बनाउने गरी विधान लेखिएको उनको आरोप छ ।

बोहराको लिखित असहमतिपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनलाई भेटेर सल्लाह गर्ने आश्वासन दिएका छन् । बोहराले आफू अध्यक्षसँगै कुरा गरेपछिमात्र आफ्ना असहमति बाहिर ल्याउने बताए ।

उता तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनले पनि स्थायी आमन्त्रित सदस्यमा अहसमति जनाएका छन् । उनले पनि आफू हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वाचित भएकाले निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा रहनुपर्ने बताएका छन् ।

असहमतिका कारण नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा अमृत बोहरा,अष्टलक्ष्मी शाक्य, अमिक शेरचनले हस्ताक्षर गरेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार