झण्डै दुई दशकयता संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ उत्तर कोरियाली अधिकारीले आफ्ना नेता किम जङ अन र राष्ट्रपति ट्रम्पबीचको शिखर बैठक आयोजनाबारे उच्चस्तरीय वार्ता सुरु गरेका छन्।

जनरल किम योङ चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग गर्ने भनिएको दुइवटा मध्ये पहिलो बैठक न्यूयोर्कमा गरिरहेका छन्।

उत्तर कोरियाले कडा खालका वक्त्वयहरू दिएपछि राष्ट्रपति ट्रम्पले गएको हप्ता शिखर बैठक रद्द भएको घोषणा गरेका थिए तर प्योङयाङले नरम भाषा प्रयोग गर्न थालेपछि उनले फेरी आफ्नो दृष्टिकोण बदलेका थिए।

ह्वाइट हाउसले प्रारम्भिक वार्ताहरू राम्ररी अघि बढे सो शिखर बैठक सिङ्गापुरमा जुन १२ तारिखमा हुने जनाएको थियो।

किम योङ चोल स्पष्टसँग अग्रेजी बोल्छन् र जुनसुकै प्रश्नको पनि अर्थ लगाउनसक्छन्। बेइजिङबाट एअर चाइनाको विमान चढेर उनी अमेरिका आएका हुन्।

जनरल किम एक जना अनुभवी वार्ताकार हुन र उनी किम जङ अनका विश्वासपात्र पनि हुन्।

प्योङयाङले परमाणु अस्त्र कार्यक्रम बन्द गर्दा के गर्न सक्छ र के गर्न सक्दैन भन्नेबारे विवरण दिनेसम्मको अधिकार उनीसँग हुने ठानिन्छ।

बीबीसी संवाददाता बार्बरा प्लेट असर भन्छिन उत्तर कोरियाली अधिकारीको अमेरिका भ्रमणले दुवै नेताहरू विवाद हल गरेर निर्धारित समयमै शिखर बैठक आयोजना होस भन्ने पक्षमा रहेको देखाउँछ।

चोलले अमेरिकी विदेशमन्त्री पेम्पोओसँग वार्ता गरिरहँदा कोरियाली सीमा, सिङ्गापुर र प्योङयाङमा पनि बैठकहरू भइरहेका छन्।

उत्तर कोरियाकी उपविदेशमन्त्री चोए सन हिले दुई कोरियाबीचको सिमवर्ती पानमुनजोम गाउँमा अमेरिकाका लागि दक्षिण कोरियाली पूर्व राजदूत किम सङलाई भेटिरहेकी छन्। आइतवारदेखि नै उक्त वार्ता चलिरहेको छ।

यसअघि विगतमा भएका परमाणु निश्शस्त्रीकरण सम्बन्धी वार्ताहरूमा पनि ती दुई कूटनीतिज्ञले एक अर्कासँग छलफल गरेका थिए।

सिङ्गापुरमा जो हेगनले उत्तर कोरियाली अघोषित सैन्य प्रमुख किम च्याङ सनसँग व्यवस्थापकीय विषयमा कुराकानी गरिरहेको ठानिएको छ।

बिहीवार नै रुसी विदेशमन्त्री सर्गेइ लावरोव वार्ताका लागि प्योङयाङ जाँदै छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार