भाेजपुरमा एक स्थानीय जनप्रतिनिधिले विकासको नाममा अाएकाे बजेटमा ठूलाे हिनामिना गरेकाे रहस्य छताछुल्ल भएकाे छ ।

भोजपुर जिल्लाको षडनन्द नगरपालिका– ८ तुङगेछाका वडाअध्यक्ष किशोर किराँतीले कर्मचारीसँग मिलेर करिब २२ लाख बराबर रकम घोटला गरेका हुन् ।
किरातीले गाउँमा विद्युत विस्तारको लागि छुटयाईएको ५८ लाख ६१ हजार बजेटको ३६ प्रतिशत मात्र काम गरेर अन्य रकम भने कर्मचारीसँगको मिलोमहतोमा घोटला गरेको आरोप स्थानीयले लगाएका छन् ।
बत्तिको लागि नगरपालिका बाट ४१ लाख, साविकको वडा ५ र ६ बाट दश लाख र जनश्रमदान बाट ७ लाख ६१ हजार गरी ५८ लाख ६१ हजार रकम संकलन गरीएको थियो । खातामा जम्मा गरेको रकम अहिले स्थानीयले खोज्दा नभएपछि उनीहरुले दवाव दिएलगतै घटना सार्वजनीक भएको हो ।
नगरपालिकाका मेयर विरवल राईले समितीको खाता नगरपालिकाले रोक्का गरेको तर वडाअध्यक्ष र प्राविधिकले काम सम्पन्न भएको भनी सिफासि गरेपछि फुकुवा गरेर रकम निकासा गरिएको बताए । काम पनि नभएको र खातामा रकम नभएपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरुले कारवाहीको माग गर्दै नगरपालिका घेराउ समेत गरेका छन् ।
उता वडाअध्यक्ष किराँतीले भने आफूले उक्त रकम पछि काम गर्ने गरी उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र कोषाध्यक्षको नाममा अर्को खाता खोलेर रकम राखेको बताए ।
बत्ती बाल्ने बजेट हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले स्थलगत अनुगमन गरेका छन् ।







