सिंगापुरमा आयोजना गरिएको अमेरिका–उत्तर कोरिया शिखर वार्ताका बेला सिंगापुरको हवाई क्षेत्र बन्द गरिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा वार्ता तय गरिएको छ। शिखर वार्ताका क्रममा सिंगापुरको हवाई क्षेत्रमा सबैखाले उडान बन्द गरिनेछ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र अमेरिकी संघीय उड्डयन प्रशासनले बुधबार यस्तो सूचना जारी गरेका छन्। सूचनाबमोजिम ११,१२ र १३ जुनमा केही समयका लागि सिंगापुरको हवाई क्षेत्र प्रतिबन्धित रहनेछ।

सिंगापुरको चांगी विमानस्थलमा उडान भर्ने सबै विमानलाई गति कम गर्न आदेश दिइएको छ र धावनमार्गमा पनि केही प्रतिबन्ध लगाइएको छ।

१० देख १४ जुनमा सिंगापुरमा थप सुरक्षा उपाय पनि अपनाइनेछ। यी क्षेत्रमा मानिस र वाहनको निकै कडा सुरक्षा जाँच गरिनेछ।

ट्रम्प र किमको शिखरवार्ता सेन्तोसा द्वीपको क्यापेला होटेलमा हुने जानकारी दिइएको छ। ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले ट्विट गर्दै उक्त जानकारी दिएकी हुन्। क्यापेला होटेल भीडभाड हुने स्थलबाट निकै टाढा रहेको बताइएको छ।

सुरक्षा व्यवस्था मिलाउन सहज हुने भएकाले टापुस्थित होटेलमा वार्ता गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार