नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले गृहमन्त्री रामबहादुर थापा बादललार्इ प्रचण्डले हप्काएपछि ठूला माछाको कुरा गर्नै छाडिसकेको बताएका छन् ।

संस्थागत रुपमा बढ्दो भ्रष्टाचार, सुन तस्करी, माफिया, महंगी, बेरोजगारी, ठेकेदारी प्रथाको अन्त्य ओली नेतृत्वको सरकारले गर्न नसक्ने ठोकुवा गर्दै गजुरेलले बादलले अटेर गरेर ठूला माछा समात्न खोजेभने उनी गृहमन्त्रीबाट च्यूत गरिने पनि दावी समेत गरे ।

क्रान्तिकारी माओवादी ललितपुरको शनिबार कुपण्डोल पार्टी कार्यालयमा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले यस्ताे बताएका हुन् ।

“लामो समय अघिदेखि हामीले भन्दै आएको र गर्दै आएको विश्लेषण सही सावित हुँदै आएको छ । वर्तमान सरकार प्रतिक्रियावादी सरकार हो । यसले जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका कुनै पनि समस्याको समाधान गर्न सक्दैन ।” गजुरेलले भने, ”त्यसका लागि यो व्यवस्था परिवर्तन हुनु पर्दछ । नयाँ जनवादी क्रान्तिमार्फत् स्थापित हुने जनगणतान्त्रिक व्यवस्थामा मात्र वास्तविक शान्ति, स्थायित्व र समृद्धि सम्भव छ ।”

ओली सरकारले बजेट लगत्तै १० प्रतिशतसम्म दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गरेको चर्चा गर्दै त्यसमाथि सरकार बनेयता आधा दर्जनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर महंगीमा आगोमाथि घ्यू थप्ने काम गरेको गजुरेलकाे अाक्राेश थियाे ।

“मूल्यवृद्धि फिर्ता गरेर महंगी नियन्त्रण नगरे ओली सरकारका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, पार्टी सम्बद्ध जवस÷मोर्चा सडकमा उत्रन बाध्य हुनेछन् ।” उलने भने ।

अधिवेशनलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका ३ नं. प्रदेश सचिव सागरले कम्युनिष्ट क्रान्तिकारीहरुलाई सिध्याउन र जनतामा अनेकन भ्रम सिर्जना गरेर जनतालाई दिग्भ्रमित पार्न प्रचण्डहरुले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’सँग समेत वार्ता भएको भनेर हल्ला चलाइएकोमा अापत्ति जनाए ।

एमालेमा माओवादी केन्द्रलाई विलय गराएपछि त्यहाँ रहेका इमान्दार नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुने लहर बढ्न थालेपछि त्यसलाई रोक्न उनले यस्तो षड्यन्त्र गरिरहेको चर्चा गर्दै यस्ता अनर्गल प्रचारबाजीबाट क्रान्तिकारी नेता कार्यकर्ताहरु सचेत र सतर्क रहनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार