नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढाले विद्यमान दलाल व्यवस्था ध्वस्त नपारी अाम नेपालीले वैज्ञानिक र जनवादी शिक्षा प्राप्त गर्न नसक्ने बताएका छन् ।
दलाल संसदीय व्यवस्थाले बनाएको शैक्षिक नियम, कानून दलाल र माफियालाई मात्र फाइदा हुने किसिमको भएको भन्दै आन्दोलनबाट आगो लगाएर ध्वस्त गर्न परिवर्तनकारी विद्यार्थी संगठनका नेताहरूलाई सुझाव दिएका छन् ।
आठ विद्यार्थी संगठनद्वारा आइतबार राजधानीमा संयुक्त रुपमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ शीर्षक अन्तरक्रिया कार्यक्रममा मातृ पार्टीका शीर्ष नेताहरुले भनाई राख्ने क्रममा अखिल (क्रान्तिकारी)का मातृ पार्टी नेकपाका नेता बुढाले सो भनाइ राखेका हुन् ।
उनले अहिलेको शिक्षा नीति नेपाली समाजलाई दलालीकरण र माफियाकरणतर्फ लैजाने भएकै कारण यसलाई खारेज गरेर नयाँ वैज्ञानिक समाजवादी शैक्षिक नीति निर्माण गर्न आन्दोलन केन्द्रित गर्न अपिल गरे । आन्दोलनको रुप अग्रगामी, यथास्थितिवादी र पश्चगामी हुने बताउँदै सरकारले ल्याएको पश्चगामी शिक्षा नीतिलाई परिवर्तनकारी विद्यार्थीको अग्रगामी आन्दोलनले विस्थापित गर्नुको विकल्प नभएको बताए ।
ओली–प्रचण्डले पञ्चायतकालीनभन्दा खराब दलाल–पूँजीवादी र व्यापारीकरण शिक्षा नीति र ऐन बनाएर नागरिकमाथि थोपरिएको उनको धारणा छ । सरकारले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न दिएर अपराध गरेको उनको भनाई छ ।
दलाल सरकारले ऐन कानून बनाउने ठाउँमा दलाल र व्यापारीलाई राखेकोले ती दलाल र व्यापारीलाई ठेगान नलगाएसम्म मौलिक अधिकार जस्तो शिक्षा सर्वसाधारणको पहुँचमा हुन नसक्ने बताए । ‘८० प्रतिशत शैक्षिक दलाल–व्यापारीले नेपालको शिक्षा नीति होल्ड गरेका छन् । त्यसलाई भत्काउन कानून बनाउने र पाठ्यक्रम विकास गर्ने ठाउँमै प्रहार गर्नुपर्छ’ बुढाले भने ‘त्यसनिम्ति नेपाल कम्युनिस्ट पार्टी साथ छ ।’
नेकपाद्वारा संचालित जनपरिषद् (जनसरकार) प्रमुख समेत रहेका बुढाले विद्यार्थी आन्दोलनलाई दलाल शिक्षा नीतिलाई कार्यान्वन गराउने सरकारी कार्यालय, पाठ्यक्रम उत्पादन केन्द्र, शिक्षा पसल (नीजि शिक्षण संस्था), तिनका संचालक र तिनका संरक्षकप्रति सच्चिन केन्द्रित गर्नुपर्ने बताए ।
पुँजीवादी मुलुक अमेरिका, बेलायत, जापानमा समेत शिक्षा, स्वास्थ्यलाई सरकारले नै व्यहोेरेको उदाहरण दिँदै नेपालमा सर्वसाधारणलाई चरम मार पर्ने गरी नीजि क्षेत्रलाई जिम्मा लगाउनु साह्य विषय हुन नसक्ने बताए ।
नेकपाले सरकारको यो गलत शिक्षा नीतिलाई खारेज गराउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।







