रेल र पानी जहाज बनाउने नाममा चुनाव जितेर बहुमत सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अाफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम राउवले फेरि अर्काे काउन्टर दिएका छन्।

रावलले रेल र पानी जहाज चलाउने नाममा प्रधानमन्त्री ओलीले राष्ट्रघात गरिरहेको संकेत गर्दै यस्ताे कदम अघि बढाए मुलुकलार्इ ठुलाे घात हुने चेतावनी दिएका छन्।

नेता भीम रावलले रेल र पानी जहाज आवश्यक नरहेको बताएका छन्। ‘जसरी सरकारले अहिले भारत र चीनबाट रेल ल्याउने भनेको छ, कोशीमा पानी जहाज चलाउने भनेको छ। यो देशको हितमा छैन’, मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा रावलले भने।

‘नयाँ जुन रेलमार्गको कुरा आइराखेको छ, मैले यसलाई कसरी बुझेको छु भने धमाधम चीनका रेल नेपालमा आउने, भारतसँग बनाए भारतका रेल आउने, यदि यस्तो हो भने यो रेलमार्ग नल्याए पनि हुन्छ’, उनले भने– ‘बाटो चाहिँ बनाइदिने हो, प्राविधिक सहयोग गर्ने हो । रेल नेपालको चलाउने हो ।’

उनले अगाडि थपे– ‘सीमाना सीमानामा भारतको रेल आउँछ भने त्यो नेपालको हितमा छैन । यो बन्द गर्नुपर्छ । जलमार्ग पनि भारतका स्टिमर ल्याएर कोशीमा चलाउने हो भने काम छैन । बन्द गरिदिए हुन्छ।’

उनले पहाडमा रेल चलाउनका लागि पूँजी सहयोग गरेमात्रै स्वीकार्न सकिने अन्यथा सीमानामा रेल चलाउनु देशका लागि हितकर नभएको स्पष्ट पारे। ‘हामीलाई चाहिएको के हो भने हामीलाई पुँजी दिनुपर्‍यो । हामीलाई सहयोग गर्नुपर्‍यो । हाम्रा पहाडमा यातायातका साधन नभएका ठाउँमा नेपालको रेल चल्नुपर्‍यो’, उनले सरकारलाई सुझाव दिँदै भने– ‘म यस कुरामा सहमत छु कि सम्बन्ध राम्रो भयो भने कहिलेकाहीँ मालबाहक रेल, पर्यटक बोकेका रेल चीनकै पनि यहाँ आउन सक्छन् । त्यसका लागि कानूनी फ्रेमवर्कको काम आजैदेखि हुनुपर्छ।’

उनले आसन्न चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई पहिले गरेका सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरे। उनले चीनको विश्वास नगुमाउन ओलीलाई सचेत समेत गराए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार