अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढाकालको गिरफ्तार गरिएको भन्दै विभिन्न आठ विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।

नेत्र विक्रम चन्द विप्ल्व नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र प्रकाश तिरुवालाई प्रहरीले सोमबार जोरपाटीबाट गिरफ्तार गरेको थियो ।
विद्यार्थी संगठनहरुले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरेर आठ विद्यार्थी संगठनका आन्दोलन सशक्त हुने भएपछि सरकारले विना कारण गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छ ।
संयुक्त विज्ञप्तिमा राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियुका सचिव पेशल दाहाल, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, अनेरास्ववियु (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका संयोजक आलोक रायमाझी र राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष ढकालसहित तीनै नेतालाई रिहा नगरेको आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
“पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइई गर्न हामी ८ विद्यार्थी संगठन जोडदार माग गर्दछौं । हाम्रो मागलाई बेवास्ता गरिए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।








