नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डलाई ह्यामलिनको पाइप पाइपरसँग तुलना गर्दै ठूलाे माअाेवादी समुहलार्इ एमालेकाे विचारविहीन पार्टीमा विलय गराएकाे अाराेप लगाएका छन् ।

नयाँ शक्ति स्थापनाको तेस्रो वार्षिकोत्सवमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे अराेप लगाएका हुन् । सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’भनेर रोचक ढंगले व्याख्या गरेका थिए ।

‘माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले ?,’ भट्टराईले प्रश्न गर्दै भने, ‘मैले माओवादीले एउटा अभिभारा पूरा गर्यो, अब नेपाली समाजको नयाँ आवश्यकता पूरा गर्न रुपान्तरण हुनुपर्छ भनेँ । प्रचण्डजीले ह्यामलिनको पाइपपाइपरले जस्तै सिंगो माओवादीलाई एमालेमा लगेर मिसाइदिनुभयो ।’

मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइपपाइपरले सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गरे ।

उनले आफू माओवादीबाट एक्लै निस्किएको प्रसंग उल्लेख गर्दै भने, ‘म माओवादीबाट एक्लै निस्किएँ र बाहिरबाट आह्वान गरेँ । प्रचण्डजीले त बहुत मिठो धुन बजाउँदै सिंगो पार्टीलाई नै एमाले नामको विचारविहिन समुद्रभित्र लगेर डुबाइदिनुभयो ।’

सम्बोधनको क्रममा भट्टराईले नेकपा (नेकपा)लाई सुन्निएर मोटाएको शक्तिको रुपमा चित्रित गरे । ‘कुनै बेला पञ्चायतलाई पनि कहिल्यै नढल्ने व्यवस्थाको रुपमा चित्रित गरिन्थ्यो,’ उनले भने, ‘अहिले सुन्निएर मोटाको विचारविहिन नेकपा ब्राकेटलाई पनि यसरी नै प्रचार गरिँदैछ, तर यो डाइनोसार जसरी नै लोप हुन्छ ।’

उनले मदन भण्डारीको निधनपछि एमाले विचारविहिन भएको आरोप लगाए । ‘मदन भण्डारीको निधनपछि एमाले विचारविहिन बनेको छ,’ उनले भने, ‘बाहिर कम्युनिष्टको खोल ओढे पनि भित्र अवसरवाद र चरम भ्रष्टाचारमा लिप्त भएको छ ।’

बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पनि विचारविहिन बनेर अँध्यारोमा छामछुम गर्दै अलमलिइरहेको उनको तर्क थियो । नयाँ शक्तिले परम्परागत पुँजीवाद र राज्य समाजवादबाट माथि उठेको समुन्नत समाजवादको बाटो विचार अगाडि सारेको भट्टराईले दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार