
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल अाउँदा उनका सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय सेनाकाे बचाउ गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाको जम्बो टोली नेपाल आएको र यसले नेपाली सेनाको क्षमतामाथि नै प्रश्न उठेको, नेपालको असुरक्षित छ भन्ने सन्देश गएको भनी चौतर्फी आलोचना भएपछि ओलीले सोमबार संसद बैठकमा जवाफ फर्काएका हुन्।
‘केही समयअघि भारतका प्रधानमन्त्री नेपाल आउनुभयो, उहाँको भ्रमणमा भारतीय सेना आउन दिइयो भनेर गुनासो छ। सुरक्षाका लागि आफ्नो सेना साथमा लाने प्रचलन विश्वभर चलिआएको छ’, ओलीले चीन भ्रमणबारे जानकारी गराउने क्रममा संसदमा भने– ‘हामी जाँदा पनि युनिफर्ममै सेना लान सक्छौं। भारतले किन ल्यायौ भन्दैन। यथोचित सुरक्षा लिन पाउँछ। यो विषय अनावश्यक ढंगले उठ्यो। तर भ्रमण सफल रह्यो।’
यसअघि सत्तारुढ नेकपाकी प्रवक्ता पम्फा भुसालसहित विपक्षी सांसदहरुले नेपालभित्र भारतीय सेना मोदीको सुरक्षाका लागि ल्याइनु नेपाली सुरक्षाकर्मीको अपमान भन्दै सरकारको आलोचना गरेका थिए।
भुसालले नेपाली सुरक्षाकर्मी नै सक्षम भएकाले भारतबाट सेनाहरु ल्याउनु पर्ने थिएन भन्दै त्यो रोक्न नसक्नुमा सरकारको कुटनीतिक लाचारी भएको तर्क गरेकी थिइन। नेपाली कांग्रेसका प्रवत्ताले समेत भारतीय सेना ल्याउनु कहाँसम्मकाे राष्टवाद हाे प्रम ज्यू भनी प्रश्न गरेका थिए।







