
गृहमन्त्री रामबहादुर थापा बादल र यातायात तथा भाैतिक मन्त्री रघुवीर महासेठबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।
गृहमन्त्री थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।
गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागेर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले काममा विलम्ब हुनुमा ठेकेदारको दोष नभई सरोकारवाला निकायले काम नगरेको भन्दै बचाउ गरेपछि गृहले कारबाही अघि बढाउन सकेको छैन।
चीन जानुअघि भौतिक योजनामन्त्री महासेठले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा व्यवसायीको दोष छैन भन्दै सरोकारवाला निकायले काम नगरेको दोष निर्माण व्यवसायीमाथि आएको भन्दै बचाउ गरेका थिए ।
काम नगर्ने, समयमै काम नसक्ने तथा सके पनि कमसल सामान प्रयोग गर्ने, लापरबाही गर्ने ठेकेदारलाई गृहले कारबाही गर्न खोजेको छ तर भौतिक मन्त्रालयले सहयोग गरेन,’ गृह स्रोतले भन्यो ।
गृहले सबै जिल्ला प्रशासन कार्यालयमार्फत काम नगर्ने ठेकेदारको विवरण मागेपछि निर्माण व्यवसायी महासंघको टोलीले गृहमन्त्रीसँग भेटघाट गरेको थियो ।







