ज्यूरिचः रकम सञ्चयका लागि सेफ हेभन मानिने स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका धनीहरूले समेत पैसा राखेकाे खुलासा भएकाे छ ।

विदेशी नागरिकका मात्रै १० खर्ब ४६ अर्ब स्विस फ्रयाङ रहेको स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ३ प्रतिशतले बढी भएको बताइएको छ।

पहिलो नम्बरमा रहेको बेलायतको मात्रै ४ खर्ब ३ अर्ब स्विस फ्रयाङ्क अर्थात् कूल रकमको २७ प्रतिशत रकम रहेको तथ्याङ्क छ। स्विस बैंकमा बेलायतीको रकम यस वर्ष १२ प्रतिशतले बढेको हो।

यसैगरी स्विस बैंकमा धन जम्मा गर्नेमध्ये अमेरिका दोस्रो नम्बरमा रहेको छ भने तेस्रोमा वेस्ट इन्डिज, चौथोमा फ्रान्स र हङ्कङ पाँचौँ नम्बरमा छन्। यसैगरी छैठौंमा बहामास, सातौँमा जर्मनी, आठौँमा गुयर्नसेइ, नवौँमा लग्जम्बर्ग र दसौँमा केम्यान आइल्याण्ड परेका छन्।

नेपालीहरूको पनि स्विस बैंकमा रकम जम्मा रहेको देखिएको छ। सूचीको ११२औं नम्बरमा नेपाल रहेको छ भने छिमेकी देशहरु चीन २० औँ नम्बरमा र भारत ७३ औँ नम्बरमा परेको छ। भारतीयहरूले जम्मा गर्ने रकममा ५० प्रतिशतले वृद्धि भएको पनि बताइएको छ। हाल भारतीयहरूको १.०१ अर्ब स्विस फ्रयाङ्क अर्थात्  ७ हजार करोड भारु स्विस बैंकमा जम्मा रहेको तथ्यांकले देखाएको छ।

स्विस बैंकमा जम्मा गरिएकोमध्ये सबैभन्दा धेरै  अर्थात् ४००० प्रतिशतले  वृद्धि भएको सोलोमन आइल्याण्डको हो। यसैगरी २२०० प्रतिशतले फारो आइल्याण्ड तथा १२०० प्रतिशतले ब्रिटिस इन्डियन ओसन टेरिटोरीको रकम स्विस बैंकमा जम्मा भएको छ।

पाकिस्तान ७२ औँ स्थानमा रहेको छ भने बंगलादेश ९५ औँ स्थानमा, श्रीलंका १०८ औँ स्थानमा र भुटान २०३ औँ स्थानमा रहेको प्राप्त तथ्यांकले देखाएको छ।

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

(एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ) जसअनुसार स्वीस नेसनल बैंकमा  रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

स्वीट्जरल्याण्डमा झण्डै चारसय बैंकहरु छन् जसमध्ये यूबीएस तथा क्रेडिट स्विस ग्रुप महत्त्वपूर्ण मानिन्छन्। स्विजरल्याण्डका सबै बैंकहरुले गोपनीयतासम्बन्धी कानुन अनुसार बैंक खाता र खातावालासम्बन्धी सबै जानकारी पूर्ण रूपमा गोप्य राख्ने भएकाले सुरक्षित मानिन्छ।

प्राइभेसी मेन्टेन गरी पैसा राख्न चाहनेहरुले बैंकको स्वीट्जरल्याण्ड बाहेक अन्य देशमा शाखा नभएका बैंकहरुमा समेत राख्ने गर्छन्। विशेषगरी कालो धनलाई लुकाउन स्वीट्जरल्याण्डका ती बैंकहरुको प्रयोग हुने गरेको आरोप समेत लाग्दै आएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार