अविरल वर्षाले तराईमा डुबान र पहाडमा पहिरो खस्दा देशैभरि जनजीवन अस्तव्यस्त बनेको छ। अहिलेसम्म मानवीय क्षतिका हिसाबले राेल्पामा तीन र कैलालीमा एक जनाकाे मृत्य भएकाे छ भने नेपालगंज र बीरगंज डुबेर निकै कष्टपूर्ण बनेकाे छ ।

सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ। गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ।
नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो। अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ।
त्यस्तै आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ।
निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ। बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ।
सरकारले बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइराखेकोले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैगरी, दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजिवन प्रभावित भएको छ। बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहर खोलाहरुमा पानीको बहाव ह्वात्तै बढेपछि साना खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ।
दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बर्दियामा डुबानमा परी केही परिवार विस्थापित भएको खबर आए पनि संख्या एकिन नभएको गृहले जनाएको छ। त्यस्तै डुबानका कारण जिल्लाबाट कुनै पनि सवारी साधन चल्न सकेका छैनन्।
पर्साको वीरगन्ज महानगरपालिका पनि डुबान भएको छ। डुबानले त्यहाँबाट कुनै पनि सवारी चल्न सकेका छैनन्।
कालिकोटमा पहिरो आएपछि कर्णाली राजमार्ग पनि अवरूद्ध भएको छ। बिहान पहिरोले अवरूद्ध मुग्लिन(नारायणगढ सडक भने एकतर्फी सञ्चालन भएको छ।
पहिराेले घर पुरिँदा राेल्पामा सुत्केरीसहित तीन र कैलालीमा एककाे मृत्यु
दाङको छिमेकी जिल्ला रोल्पामा अविरल वर्षाका कारण घर भत्किँदा तीन जनाको मृत्यु भएको छ।
१८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार बिहान पौने ११ बजेतिर घर भत्किँदा २२ वर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो।
आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख फुँयालले सेतोपाटीलाई जानकारी दिए।
सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको समयमा ढुङ्गाको गारायुक्त घर भत्कँदा उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ । १५ वर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन भनी त्यहाँ गएकी थिइन्।







