सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अाफ्नै पार्टी नेतृत्वकाे सरकारकाे कामको आलोचना भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारकाे निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला सत्ताधारी नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको हो । केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए ।

‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो ।

बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो ।

बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री–मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो ।

यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो ।

बैठकमा सरकारको कामको आलोचना भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले त्यसैमा केन्द्रित रहेर छलफल गर्न छुट्टै बैठक डाकिने जानकारी गराएर बैठक समापन गराएका थिए ।

अध्यक्ष ओलीको चीन भ्रमणसम्बन्धी ‘ब्रिफिङ’बाट सुरु भएको बैठक अर्का अध्यक्ष प्रचण्डले समापन गरेका थिए । सरकारको कामको समीक्षासम्बन्धी एजेन्डामा लगातार नेताहरूले आलोचना गर्न थालेपछि प्रचण्डले बैठक समापन गरेका हुन् ।

‘अध्यक्ष प्रचण्डले सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छुट्टै बैठक बसौँ, त्यही बैठकबाट योजना पनि बनाऔँ भन्दै बैठक समापन गर्नुभो,’ एक स्थायी समिति सदस्यले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार