सत्ताधारी नेकपाका केन्द्रीय सदस्य  लेखनाथ न्यौपानेसँग जनतापाटीका लागि कृष्ण गिरीले गरेकाे  कुराकानीकाे संक्षिप्त अंश –

कम्युनिष्ट पार्टीमा पार्टीले सरकार संचालन गर्छ कि सरकारले पार्टी ?

पार्टीले सरकार संचालन गर्ने हो । संसारभरि र नेपालमा पनि पार्टी स्थायी हो । सरकार अस्थायी हो । यो बहसको विषय बनेको छ । तर बन्नुपर्ने होइन । पार्टी प्रमुख हो । सरकार दोस्रो हो । सरकारले पार्टी संचालन गर्ने होइन । सरकारले गरेको काम नै पार्टीले गरेको काम हो भन्ने भईरहेको छ । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा पार्टीमा आक्षेप जान्छ । यसलाई पार्टीले नै सरकारलाई भन्नु पर्ने हुन्छ । तर अहिले सरकार भनेको नै पार्टी हो जस्तो भएको छ । पार्टीका कुनै पनि स्तरका छलफल सरकारी कार्यलयबाट संचालन हुनुहुँदैन भनेर म भन्दिन । तर, सरकारी कार्यलयबाट अथवा बालुवाटार वा सिंहदरबारबाट नै पार्टीका सबै गतिविधि गर्ने हो भने पार्टीले सरकार होइन कि सरकारले पार्टी संचालन गरेको देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको काम पार्टी र सरकार संचालन गर्ने होइन र ?

सचिवालयले सामान्य मिटिङ बस्ने र भैपरि आउने काम गरेको देखिन्छ । यसको गठन भएको यत्तिको लागि हो कि सरकार र पार्टी संचालन गर्ने हो भन्ने कुनै मापदण्ड बनेको छैन । सचिवालयको कार्यक्षेत्र कति हो त्यसको कार्यक्षेत्र नै डिफाइन भएको छैन । यसले काम वृहत गर्ने हो कि होइन ? पार्टी र सरकारका काम कारवाहीमा कमीकमजोरी हुँदा यसले सल्लाह सुझाव दिने हो कि होइन ? सरकारका काम कारबाहीमा निगरानी गर्न पाउने कि न पाउने भन्ने प्रष्ट छैन । अध्यक्ष आफैं प्रधानमन्त्री भएपछि उहाँको बोली सरकारको बोली र पार्टीको पनि बोली हुने भएको छ ।

एमाले र माओवादीबीच भएको एकताप्रति कत्तिको सन्तुष्ट हुनु हुन्छ ?

म १०० प्रतिशत समर्थन र १०० प्रतिशतमा विरोध गर्ने कुराको विरोधी हुँ । यसले कार्यकर्ताहरुलाई आलोचनात्मक चेतबाट चल्न रोक्छ । यो कल्चर ठिक होइन । आलोचना भनेको सहीलाई सही र गलतलाई गलत भन्नु हो । म पार्टी एकताको पक्षमा हो । ०४६ सालबाट एमाले संसदीय राजनीतिमा आयो, हामीहरुले ०५२ सालबाट जनयुद्ध संचालन गरेका हौं । जनयुद्धबाट यो देशमा भएका धेरै कुराहरुमा परिवर्तन आएको पनि छ । २४० बर्ष लामो इतिहास भएको राजतन्त्रको अन्त्य गरेको छ ।

जब शान्ति प्रक्रियामा आयाै‌ । दुबै कम्युनिस्टले संसदीय राजनीतिबाट समाज परिवर्तन गर्न तयार भएपछि एकता हुनु कुनै अनौठौ होइन । चुनाव मार्फत सकारात्मक सन्देश दिने भनेपछि एकता ठिक हो । जनचाहना अनुसार दैनिकी सहज बनाउने काम हुनु पर्छ ।

तपाईको असहमति के मा हो त ? 

यो प्रक्रियामा अर्थात् एकता गर्दा जुन प्रक्रिया अपनाइयो त्यसप्रति मेरो असहमति हो । यो एकतालाई सबैको साझा सम्पति बनाउन सकिएन । जति बहस छलफल हुनुपर्ने हो त्यति भएन । प्रक्रिया मिलेन । पार्टीमा संस्थागत निर्णय भएन । नेतृत्वको आदेशमा चल्यो । निर्णयको पालक मात्र बनाइयो । केन्द्रदेखि सेल कमिटीसम्म बहस छलफल भएन । नेतृत्वको आदेश पालना गराइयो । यो कम्युनिस्ट पार्टीको संस्कार होइन ।

यसले एकथरी कार्यकर्ताहरुलाई निरपेक्ष रुपमा एकताका पक्षधर र अर्कोलाई विरोधी बनायो । यसले आन्दोलन सही दिशामा जाँदैन । यसलाई सुर्धानुपर्छ । केही मिलेन, मिलाउनु पर्छ भन्यो भने साइजमा ल्याउने काम हुन्छ । प्रचण्ड विरोधी, एकता विरोधी देखाइन्छ ।

एकता पनि एमालेको चाहना अनुसार भयो भन्ने छ नि अथवा एकता पछि पूरै एमाले हाबी भयो भन्ने छ नि ?

माओवादी एमालेतर्फ लतारियो भन्ने बहस भएको छ । यसका केही तथ्यहरु छन् । जस्तो कि –दुई जना अध्यक्षमा १ न. अध्यक्ष केपि ओली २ नं अध्यक्ष प्रचण्ड । यसमा पनि एमाले हाबी देखियो । मार्क्सवाद, लेनिनवाद एमालेको मार्गदर्शक सिद्धान्त हो, माओवादीको मार्क्सवाद लेनिनवाद र माओवाद हो । तर, पार्टी एकता भएपछि मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद भयो–हिजोको एमालेको सिद्धान्त ।

केन्द्रीय समितिको ४६ प्रतिशत माओवादीको भागमा पारियो । स्थायी समितिमा माओवादीको भागमा ४२ प्रतिशत र सचिवालय बनाउदा ३२ प्रतिशत भयो । संरचनागत रुपमा एमाले नै हाबी छ । चुनाव चिन्ह पनि सूर्य राखियो । जब कि माओवादीको हँसिया हथौडा थियो । यसबाट धेरैलाई लागेको छ माओवादीको एमालेकरण त भएन ? अरु वैचारिक कुरामा पनि केही फरक अथवा एमालेले चाहेको अनुसार हुन खोजेको छ । लेटरप्याडमा मार्गदर्शक सिद्धान्त नलेख्ने भन्ने आएको छ ।

कम्युनिस्ट पार्टीको हसियाँ हथौडा चिन्ह झण्डा, साइनबोर्ड र लेटरप्याडमा नराख्न खोजेको जस्ता भान भएको छ । यो भयो भने कम्युनिस्ट होइन कि पूरा बुर्जुवाकरण भयो भन्न सकिन्छ । जसरी हिजो एमालेले सूर्य चिन्हलाई कम्युनिस्ट पार्टीको झण्डाको रुपमा प्रयोग गरेजस्तो गर्दैछन् । यो कम्युनिस्ट पार्टीको बुर्जुवाकरण हो ।

मार्क्सवाद लेनिनवाद र माओवादका बारेमा बहस गर्ने नयाँ समुह (नेकपा) भित्र जन्मन्छ कि जन्मदैन होला ?

कस्तो भयो भने नेपालको राजनीतिमा अभिव्यक्त गर्ने थलो पार्टी कमिटी हुन् । तर यहाँ त्यो वातावरण नै छैन । न त मेहनत नै भएकोे छ । यो पनि नेतृत्वले गर्ने हो । अरुले गरेर हु‘दैन । जब पार्टी कमिटीमा बहस हुँदैन, तब अभिव्यक्ति बाहिर आउँछन् । बाहिर आएर अलिकति पनि आलोचना गर्ने क्षमता पनि छैन । विडम्बना नै भन्नुपर्छ कि संस्थागत संरचनाको अलिकति पनि आलोचना गर्याे भने पाएको सुविधा पनि खोसिन सक्छ, मेरो पद धरापमा पर्छ भन्ने लागेर आलोचना गर्ने कुरा बन्द छ । यस्तो भयो भने पार्टीमा हुल्लडबाजहरुको, विचारभन्दा बाहिर, सिद्धान्तभन्दा बाहिरकाले पार्टी कब्जा गर्छन् । यो मौनताले पार्टी अरुले नै कब्जा गर्छन । त्यहाँ नैतिकता नै बाँकी रहँदैन ।

नेताहरुमा पनि ताली संस्कृति भएपछि त्यो पार्टी सिद्धान्त हिनता, विचार शुन्यतामा जान्छ । नेताहरुले जे भनेपनि ताली हान्नुपर्छ भन्ने हुनुहुँदैन । कम्युनिस्ट पार्टी जस्तै बनाई राख्नुपर्छ भन्ने भुल्काहरु त निस्किरहेका छन् । तर यी भुल्कामा नै सिद्धिने हो कि भन्ने डर छ ।

पानी जहाज र रेलको समृद्धि के हो ?

काठमाडौं देशको राजधानी हो तर यहाँका सडकका प्वाल टाल्न सकेको छैन । यहाँका सडक अन्तर्राष्ट्रिय स्तरका छैनन् । कोटेश्वरदेखि सूर्यविनायकसम्म अन्तर्राष्ट्रिय मापदण्डको छ भन्ने छ । देशभरिका सडक अन्तर्राष्ट्रिय मापदण्डको बनाऔं पहिला । अन्त कतै रेल चाहिँदैन पूर्व- पश्चिम संचालन गरे पुग्छ, त्याे पनि हाम्रै इन्धनले चल्ने हुनुपर्छ । कोशीमा ड्याम बाँधेर दोलखासम्म डुवानमा पारेर पानीजहाज के काम  जसले अायात बढाउँछ, निर्यात गर्ने वस्तु केही हुँदैन । त्यसकारण रेल, पानीजहाजभन्दा पहिला उत्पादन बढाउनुपर्याे, अात्मनिर्भर कसरी हुनेतिर साेच्नुपर्याे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार