विकास र समृद्धिको नारासहित सत्ताको स्टेरिङ सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल माफियाको पक्षमा अर्काे निर्णय लिएका छन्।

माफियाको पक्षमा चिकित्सा शिक्षा विधेयक ल्याएर आलोचित बनेका ओलीले तत्कालिन एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका नेता बसरुद्दिन अन्सारीको मेडिकल कलेजको झण्डै ६ करोड भन्दा बढी कर छुट गराएका छन्।

ओलीले सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमार्फत यो छुट दिन लगाएका हुन्। प्रदेश २ मा फोरमको सरकार छ भने वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा पनि फोरमकै नेता भएकाले यादवमार्फत ओलीले यस्तो कदम चालेका हुन्।

खासमा केन्द्रको निर्देशनमा वीरगञ्ज महानगरले अन्सारीको कलेजको ६ करोड कर छुट दिएको हो। ठूलो रकम छुट दिएर कर विवाद टुङ्ग्याएपछि वीरगञ्जमा महानगरपालिकाको चर्को आलोचना सुरु भएको छ ।

विसं २०६० सालदेखि वीरगन्ज महानगरपालिका १५ भेडियाहीमा सञ्चालित कलेजले विभिन्न बहानामा घरजग्गा कर, व्यवसाय कर तिर्न अटेर गर्दै आएको थियो । तत्कालिन वीरगञ्ज नगरपालिकाले २०६७, २०६८, २०७० सालमा र त्यसपछि पनि पत्र पठाएर कर तिर्न आग्रह गर्दा समेत नेशनल मेडिकल कलेजले अटेर गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ सम्म कलेजले पहिलेको घरजग्गा कर तथा ४ वर्षदेखि लागु गरिएको एकीकृत सम्पत्ति करबापत महानगरलाई १० करोड ३८ लाख ११ हजार तिर्नुपर्ने थियो । तर, वीरगञ्ज महानगरपालिकाले विवाद सल्टाउने नाममा एमाले (हाल नेपाल कम्युनिस्ट पार्टी) नेता समेत रहेका अन्सारीको कलेजलाई घरजग्गा तथा एकीकृत सम्पत्ति करमा एकैपटक ६ करोड छुट दिएको छ ।

महानगरको दोस्रो नगरसभाले ४ करोड ९४ लाख ७८ हजार २ सय ६९ रुपैयाँ ४२ पैसा बुझाउनुपर्ने निर्णय गरेको हो । साे कलेजले १० कराेड तिर्नुपर्नेमा ४ कराेड मात्र तिरेर ६ कराेड मिनाह गरिएकाे छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार