गंगामा जलमार्ग बनाउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सगुफा‘ गंगामै बगेको एउटा रोचक समाचार २५ जुनको भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा देखाइएको छ । यु ट्युबमा भेटिने यो समाचार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं नभए कम्तीमा पनि उनका निकट विश्वस्त सहयोगीले हेर्नु उचित होला ।

प्रधानमन्त्री ओलीले सन् २०१८ को आखिरमा ‘पानी जहाजबाट कलकत्ता जान’ विपक्षीहरूलाई दिएको कटाक्ष मिसिएको निम्तासँग यो समाचार जोडिएको छ । त्यसो त समाचार भारत सरकारकै योजनामा केन्द्रित छ तर त्यसमा गंगामा पानी जहाज चलाउने योजनाको मूर्खता उजागर भएको छ । नेपालबाट कलकत्ता जलमार्गबाट जान त गंगाकै बाटो जानुपर्ने होला । नेपालका सबै ठूला नदी अन्ततः पुग्ने गंगामै हो क्यारे !
भारतका चर्चित पत्रकार रवीशकुमारले सञ्चालन गर्ने त्यस कार्यक्रममा उनले गरेको एउटा कटाक्ष उल्लेख गरौँ – ‘‘गंगाको सतहमा थुप्रिएको बालुवा र माटो देखेपछि त्यहाँ पानी जहाज चलाउने हैन डन्डीबियो (गुलीडन्डा)खेल्न मनलाग्छ ।’’ अर्थात्, गंगामा पानी फोहोरमात्र भएको छैन सुक्तैै पनि गएको छ । गंगाको पानी पवित्र बनाउने योजना त विफल भइसकेको छ । अब, जलमार्ग बनाउने योजनाको पैसा पनि गंगामै बगाए बराबर हुने देखिन्छ ।
बनारसमा गंगाबाट पानी पम्प गरेर वितरण गरिँदो रहेछ । जलस्तर निकै घटेकाले पम्प गर्न पनि कम गर्नुपर्ने भएछ । त्यसैले बनारसवासीलाई पानीको खपत कम गर्न २१ जुनमा सरकारले निर्देशन जारी गरेको रहेछ ।
गंगामा थुप्रिएको माटो र बालुवा नहटाई जलमार्गको विकास हुनसक्तैन भन्ने भारतकै बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारको भनाइ (बाइट) पनि समाचारमा समावेश गरिएको छ । इनल्यान्ड वाटर वे अथोरिटी अफ इन्डिया नामको सरकारी प्राधिकरणको मालवाहक जहाज बक्सरमा गंगाको पुल नजिकै जनबरी २०१८ मा फसेको जानकारी पनि बिहारका मुख्यमन्त्रीले दिएका छन् । रामरिखा घाटको नजिकै रवीन्द्रनाथ टैगोर नामको मालवाहक जहाज फसेको ठाउँमा नदीको गहिराइ एक मिटर चानचुनमात्रै भएकाले चल्न नसकेको रहेछ । मालवाहक जहाजलाई उतार्न पठाएको अर्को उद्धारक जहाज त झन् त्यसभन्दा १० किलोमिटर पहिले नै फसेछ । बक्सर र आराको बीचमा दुईवटा जहाजहरू फसेका छन् ।
वर्षामा पानी बढेपछि निकाल्न सकिने आशा गरिएको छ । यी दुवै जहाज अलि ठूला डुंगाजस्ता रहेछन् – मध्यमश्रेणीका । उत्तरप्रदेशको इलाहाबादबाट बंगालको हल्दियासम्म जलमार्ग बनाउन भारत सरकारले सन् २०१४ मा ५ हजार ३ सय ६९ करोडको योजना तर्जुमा पनि गरेको रहेछ । तर, सरकारी योजना लगभग कागजमै सीमित भएछ । समाचारमा भनिएअनुसार गंगालाई जलपरिवहनका लागि योग्य बनाउन ४३ वर्षदेखि जम्मा हुनथालेको बालुवा र माटो हटाउन एउटा ट्रकको पछाडि अर्को ट्रक राख्ने हो भने पृथ्वीको परिक्रमा गर्न पुग्ने लमाइ हुनेछ । अर्थात्, असम्भव प्रायः छ । नदी सतहमा थुप्रिएको माटो र बालुवा सफा नगरी गंगामा मालवाहक जहाज चलाउन सकिँदैन भन्ने निष्कर्ष समाचार हेरेपछि निस्कन्छ ।
नेपालको बजेटमा यस वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको र अध्ययन थालिएको बताइएको छ । तर, गंगामा अहिले पानी जहाज हैन स्टिमर पनि निर्बाध चल्ने सम्भावना नभएको माथिको समाचार हेर्दा स्पष्टै थाहा हुन्छ । गंगामै जहाज नचले नेपालले भारतसँग गरेको जलमार्गको (इन ल्यान्ड वाटर वे)को प्रयोगसम्बन्धी सम्झौता पनि मोदीका सगुफा र ओलीका टुक्काजस्तैै मनोरञ्जनका लागिमात्र हुनेछन् । प्रधानमन्त्री केपी ओलीले कुन जानकारीका आधारमा कलकत्तासम्म पानी जहाजमा सयर गर्ने निम्ता दिए त्यो उनैलाई थाहा होला ।
भारतीय समकक्षी नरेन्द्रभाइ दामोदरदास मोदीकै भरमा प्रधानमन्त्री ओलीले यो गुड्डी हाँकेका हुन् भने यो दाबी पनि चिनियाँ रेलजस्तै हुने देखिन्छ । समृद्धि किन यति निष्ठुरी बन्दै गएकी होली ? (चिनियाँ रेलको ऐना देखाई दिने डा. रामेश कोइरालाले कम्युनिस्ट नेताहरूबाट ‘विकास विरोधी’को पदवी पनि पाएका छन् क्यारे ! अब पानी जहाजको सपना तुहाइदिएको भन्दै एनडीटीभीलाई सराप्न नथालियोस् । मैले त उता देखेको सामग्री आफ्ना पाठकका लागि पनि रोचक होला भनेर यता प्रस्तुत गरिदिएको मात्र हो । गाली सराप जे हो उतै जाओस् !)
भिडियाे –
https://youtu.be/_bteytpVVdo
नेपाली पत्रकार गाेविन्द अधिकारीले भारतकाे एक प्रसिद्ध टेलिभिजन च्यानलले अाेलीकाे पानी जहाजबाट भारतकाे कलकत्ता जाने सपनामाथि गरेकाे कटाक्षलार्इ व्यंग्य गर्दै तयार पारिएकाे एक विश्लेषणात्मक रिपाेर्टकाे सम्पादित अंश ।







