
काठमाडौंमा सम्पन्न पाँचौ पारा टेबुल टेनिस च्याम्पियनशिप प्रतियोगिता २०७५ मा रोल्पाबाट लोक केसीले नेसनल च्याम्पियनशिप ‘गोल्ड मेडल’ को उपाधी हात पारेका छन् । उपत्यका बाहिर यो उपाधी लिएर जाने उनी पहिलो खेलाडी सावित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक सम्पन्न गरेको यो प्रतियोगितामा धेरै चुनौतिका बावजुद लोक केसीले यो उपाधी हात पारेका छन् । देशभरिका ७० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधी जीतेका केसीले कुनै औपचारिक प्रशिक्षण लिने अवसर समेत नपाएको बताउछन् ।
बर्षातको समयमा रोल्पाबाट काठमाडौं प्रतियागितामा सहभागी हुन आउदा निकै सास्ती झेल्नु परेको उनको तीतो अनुभव छ । नारायणगढ –मुग्लिन सडकखण्डमा झरेको पहिरोका कारण उनी ३० घण्टाको अन्तरालपछि राजधानीमा प्रवेश गरेका थिए ।
उनले पहिलो पटक भएको राष्ट्रिय प्रतियागितामा नेशनल च्याम्पियनशिपको उपाधी हात पारेर रोल्पा र रोल्पालीलाई चिनाउन पाउनु ठुलो खुशीको कुरा रहेको बताएका छन् । केसी तीन महिनापश्चात हुने अन्तराष्ट्रिय प्रतियोगिताका लागि समेत छनोट भएका छन् ।
केसी खेलाडी संगसंगै कुशल गायक तथा संगीतकार पनि हुन् । रोल्पा जिल्लामा धेरै कलाकार जन्माइसकेका केसीले दुई दशक सांगीतिक यात्रामा बिताएका छन् ।
दर्जनौ गीतहरु बजारमा ल्याइसकेका केसी जिल्लामा भइरहने गीतसंगीतका प्रतियोगिताहरुमा मुख्य निर्णायक समेत रहने गरेका छन् ।








