
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले साेमबार बन्दको पूर्वसन्ध्यामा कर्णालीका पाँचवटै जिल्लामा मशाल जुलुस बालेको छ ।
कर्णाली व्युराेमा पर्ने हुम्ला, जुम्ला, कालिकाेट,दैलेखलगायत जिल्लामा नेकपाका कार्यकर्ताहरूले अाइतबार बेलुकी मशाल जुलुश बालेका छन् ।
मुगुको सदरमुकाम गमगढीमा आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर जिल्ला इन्चार्ज संगमसहितका नेताहरुलाई गिरफ्तार गरेको थियो भने दर्जनभन्दा बढी घाइते भएका छन् ।
केन्द्रीय सामना परिवारले साँस्कृतिक कार्यक्रम आयोजना गरिरहेको बेला प्रहरीले हवाई फायर गर्दै कार्यक्रममाथि हस्तक्षेप गरेको थियो । उक्त हस्तक्षेपविरुद्ध पार्टीको कर्णाली ब्यूरोले सोमबार बन्दको आयोजना गरेको छ ।
पूर्व घोषित कार्यक्रमअनुसार आइतबार कर्णालीका पाँचवटै जिल्लाका सदरमुकाम र स्थानीय बजारहरुमा मशाल जुलुस निकालिइको छ । नेकपाका स्थानीय कार्यकर्ता र समर्थकहरुले सरकारी हस्तक्षेपविरुद्ध चर्का नारा लगाएका छन् ।







