अविरल वर्षापछि भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सुतिरहेको बेला खसेकाे पहिराेले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।
उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए । अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।
गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था छैन।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

अविरल वर्षापछिकाे डुबानमा भक्तपुर ।








