नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था दाबी गर्ने नेकपा चाहिँ अर्बपति छ ।

गरिब–किसानको पार्टी मानिने नेकपालाई किन चाहिन्छ, अर्बौंअर्बको चलअचल सम्पत्ति ? अनि कहाँबाट आउँछ यति धेरै सम्पत्ति ? यी स्वभाविक प्रश्न नै मानिन्छन् । विश्लेषकहरू यति ठूलो धनराशि बटुल्ने नीतिले नेकपाको चरित्र नै बदलिन सक्ने बताउँछन् ।

नेकपाको सम्पत्ति आर्जन र आर्थिक परिचालनको विधि हेर्यो भने यो ठूलै ‘कर्पोरेट कम्पनी’ जस्तो देखिन्छ, न कि कुनै सर्वहारा श्रमजीवी वर्गका जनताको पार्टी । पार्टीको लगानीमा सञ्चालित परियोजनाबाट आर्थिक सहायता जुटाउने घोषित नीति बनाएर नेकपाले भविष्यमा ‘व्यापार’मा हात हाल्ने बाटो पनि तयार पारेको छ । चल–अचल सम्पत्तिको लेखाजोखा गर्यो भने यो पार्टी अर्बपति भैसकेको छ । त्यसो त यो पार्टीमा करोडपति नेताहरूको सङ्ख्या पनि ठूलो छ, जुन बेलाबेला मन्त्री हुँदा नेताहरूले सार्वजनिक गर्ने सम्पत्तिमा देखिन्छ ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर ठूलो कम्युनिस्ट पार्टी भएपछि यसको आर्थिक हैसियत पनि ठूलै भएको छ । यति मात्र होइन, भविष्यमा पार्टी चलाउनेदेखि चुनावसम्मको योजनालाई केन्द्रमा राखेर नेकपाले आर्थिक सङ्कलनको नीति पनि तयार गरेको छ । नेकपा अहिले सरकारमा छ, यसैले उसलाई चन्दा दिने शक्तिका पुजारी ‘शुभचिन्तक’ बढी नै भेटिन्छन् ।

विकास, समृद्धि, सुशासन हुँदै समाजवादतिर जाने परिकल्पना गरेको नेकपाले पार्टीको आर्थिक पाटोलाई बलियो बनाउँने रणनीति अख्तियार गरेको छ । राष्ट्रलाई आर्थिक समृद्धितिर लैजाने, दुई अङ्कको आर्थिक वृद्धिदरको सपना राखेको नेकपाले पार्टीको सम्पत्तिमा भने उल्लेखनीय प्रगति गर्न चाहेको छ । अहिले नेकपाले करोडौँ रकम पार्टी कोषमा जम्मा गर्ने योजना बनाएको छ । उसले उक्त रकम पार्टी काममा खर्च गर्ने बताएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकता भएसँगै दुवै पार्टीका नाममा रहेको सम्पत्ति नेकपाको नाममा गर्ने निर्णय गरिसकेको छ । देशभरि तत्कालीन दुई पार्टीका नाममा रहेका सम्पत्ति चलनचल्तीमा भन्दा झन्डै ३ अर्बभन्दा बढी छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन् : पुँजीपतिले सित्तैँमा चन्दा दिँदैनन्

सर्वहारा र श्रमिक वर्गको पार्टीले पुँजीपतिहरूसँग पैसा लिएर पार्टी चलाउने भनिरहेको छ । त्यो नमिल्ने कुरा हो । त्यसले उनीहरू श्रमिकवर्गप्रति इमानदार रहँदैनन् । पुँजीपतिले सित्तैँमा चन्दा दिँदैनन् । उनीहरूका केही सर्त हुन्छन् । सर्तहरू पालना गर्नुपर्यो । त्यसले पार्टी र नेता श्रमिक वर्गहरूबाट टाढिँदै जान्छन् ।

आफूले काम गरेर त्यसबाट आम्दानी गर्ने भन्ने कुरा ठीकै छ । जनतामा नेता आफै गएर चन्दा उठाउँछन् भने त्यो पनि आफ्नो कुरा भयो । तर पुँजीपतिकहाँ गएर चन्दा लिने भनेर नेकपाले जुन बाटो खुला गरेको छ, त्यो मिल्ने कुरा होइन । त्यसले श्रमिकवर्गको पार्टीको चरित्र नै बदलिदिन्छ । नेकपाले चुनावका लागि बाटो खोलेको हो जस्तो लाग्छ । नत्र पार्टीलाई त्यति धेरै पैसा किन चाहिन्छ ? पार्टी त लेबीबाटै चल्छ नि । नेकपाको लेबी नै करोडौँ उठ्छ । बरु पार्टीले चलअचल सम्पत्ति राख्न सक्छ ।

अब चुनावमा भोटको आधारबाट राज्यले पैसा दिने गर्नुपर्छ । पुँजीपतिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । यसको अभ्यास अन्य कतिपय मुलुकमा भएका पनि छन् । जस्तै नर्वे, फिनल्यान्डलगायतका देशले गरेका छन् । नेपालमा यो अभ्यास गर्न किन नमिल्ने ? यसो गर्दा पुँजीपतिसँग पैसा लिएर पार्टी चलाउने भन्ने हुँदैन । पुँजीपतिको हितमा काम नगरे राम्रो हुन्थ्यो । सर्वहारा वर्गको पार्टी नेकपा जनतातिर गएन, बरु पुँजीपतितिर गयो । यो राम्रो होइन ।

सत्ताधारी नेकपा निकट मानिने रातापाटी अनलाइनले लेखेकाे रिपाेर्टकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार