नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्ता अहिले माक्र्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई माक्र्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् ।

रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई माक्र्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरि । माक्र्सवादबारे ज्ञानको भण्डार मानिने गिरिले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए ।

१० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि प्रशिक्षकका रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगन्जमा भएको प्रदेशस्तरको पहिलो माक्र्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए ।

आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् । तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए ।

केपी ओली र प्रचण्ड रहेको सल्लाहकार कमिटीमै गिरि

एक वर्षमा १० हजार युवालाई मार्क्सवाद सिकाउन भन्दै ६९ सदस्यीय मूल कमिटी, १३ सदस्यीय सचिवालय र १२ सदस्यीय सल्लाहकार कमिटी बनेको छ । तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नेकपा मसालले कार्ल मार्क्स द्विशतवार्षिकी मूल समारोह समितिअन्तर्गत यी कमिटी बनाएका थिए ।

केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, अमिक शेरचन, गणेश शाह, विष्णुबहादुर मानन्धनर, मोहनविक्रम सिंह र चित्रबहादुर केसी सदस्य रहेको सल्लाहकार कमिटीमा प्रदीप गिरि पनि सदस्य छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार