आर्थिक वर्ष २०७४–७५ सकिँदा वर्षको अन्तिम २ दिनमा मात्रै ४५ अर्ब रुपैयाँ भुक्तानी गरिएकाे छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबार राति १२ बजेपछि सोमबार बेलुका ५ बजेसम्म सरकारी ढुकुटीबाट ४५ अर्ब बराबरको रकम भुक्तानी भएको छ ।

त्यसमध्ये आइतबार मात्रै साढे ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो भने सोमबार साँझ ५ बजेसम्मको भुक्तानी १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । शनिबार राति अबेरसम्म १० खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ निकाशा भएकोमा सोमबार साँझ ५ बजेसम्म १० खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी भएको छ ।

आर्थिक वर्षको पहिलो केही महिना मासिक २ देखि ३ अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने गरेपनि अन्तिममा भने दैनिक २० अर्बभन्दा बढी खर्च भएको देखिएको हो । जेठसम्मको तथ्यांकमा करिब साढे ८ खर्ब रुपैयाँ बजेट भुक्तानी भएकोमा असार महिनामा मात्रै २ खर्ब बराबरको चेक काटिएको देखिएको हो ।

बजेट खर्चको विगतको ट्रेन्ड हेर्दा १५–२० प्रतिशत असारमा मात्र भुक्तानी हुन्थ्यो । जेठ मसान्तसम्म ६७ प्रतिशत भएको खर्च असार मसान्तसम्म आइपुग्दा ८३ प्रतिशत कट्नुले सोही प्रवृत्ति दोहोरिएको देखिएको हो ।

यससँगै वर्षको अन्तिममा ठूलो रकम खर्च हुने क्रमले यसपाली पनि निरन्तरता पाएको छ । वर्षको अन्तिममा आएर हुने खर्चलाई जानकारहरुले “असारे विकास”को संज्ञा दिने गरेका छ । बजेट खर्चमा देखिने यो चरम लापरबाही वर्षौदेखिको रोग रहेको उनीहरुको दावी छ ।

विनियोजन गरिएको बजेटको आधारमा हेर्दा आव २०७४–७५मा भएको भुक्तानी अवस्था भने नाजुक रह्यो ।

महालेखा नियन्त्रका कार्यालयका अनुसार आइतबार साँझसम्म चालूतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म ६ खर्ब ९५ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ८६.६१ प्रतिशत हो । त्यसैगरी पुँजीगततर्फ र वित्तीय व्यवस्थातर्फ वार्षिक लक्ष्यको क्रमशः ७८.७३, ७८.०१ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ८७ करोड र १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले चालू आवमा १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ ८ खर्ब ३ अर्ब, पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

रातारात काटियो १९ अर्बको चेक

आइतबार साँझ ५ बजेदेखि राति १२ बजेको अवधिमा मात्रै सरकारी ढुकुटीबाट करिब १९ अर्ब रुपैयाँ भुक्तानी भएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझ ५ बजेसम्म १० खर्ब ३९ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा राति १२ बजेसम्म यस्तो रकम १० खर्ब ५८ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उठेन १३ अर्ब राजस्व

आर्थिक वर्ष २०७४–७५को अन्तिम दिन ५ बजेसम्म कूल १ खर्ब १७ अर्ब ५ करोड रुपैयाँ राजस्व उठेको छ । यो सरकारले लिएको लक्ष्य ७ खर्ब ३० अर्बमा १३ अर्ब ४ करोड रुपैयाँ अपुग हो ।

आइतबार ५ बजेदेखि राति १२ बजेसम्म उठेको राजस्वको मात्रा हेर्दा लक्ष्यको ४–५ अर्ब कम हुने देखिन्छ । आइतबारसाँझमा मात्र सरकारको ढुकुटीमा राजस्वमार्फत् साढे ७ अर्ब रुपैयाँ थपिएको थियो । बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभइ धेरै विनियोजन भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संशोधित अनुमानअनुसार पनि राजस्व नउठ्ने देखिएको हो ।

सरकारले उठाएको कूल ७ अर्ब १७ करोड रुपैयाँ राजस्वमा वैदेशिक अनुदान र गत वर्षको नगद मौज्दात तथा बेरुजु जोड्दा सरकारी ढुकुटीमा वर्षभरी जम्मा भएको कुल रकम ७ खर्ब ४९ अर्ब रुपैयाँ हुन आउँछ ।

बाह्रखरी अनलाइनले तयार पारेकाे रिपाेर्टकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार