सत्ताधारी नेकपाका केन्द्रीय पदाधिकारीमध्येका एक नेता वामदेव गाैतमले गृहमन्त्री रामबहादुर थापा बादलले अहिले अाएर अनावश्यक निषेधित क्षेत्र घाेषणा गरेकाे भन्दै बादलकाे विराेध गरेका छन् ।
पटक पटक गृहमन्त्री समेत भइसकेका गाैतमले सरकारले बुद्धि नपुर्याएर निषेधित क्षेत्र ताेकेकाे भन्दै अहिले याे अावश्यक नै नरहेकाे बताएका छन् । राताेपाटी अनलाइनसँगकाे कुराकानी गाैतमले यस्ताे बताएका छन् ।
गाैतमसँग गरिएकाे कुराकानीकाे सानाे अंश –

सरकारले पनि ढङ्ग नपुर्याकै हो । म भएको भए आफूले नियन्त्रण गर्न नसक्ने अवस्थामा निषेधित क्षेत्र बढाउने थिइनँ । अहिले सरकारले बढायो । नदुखेको कपाल दुखायो ।
म भएको भए डा. गोविन्द केसीलाई ल्याएर कहाँ कति मेडिकल कलेज खोल्ने हो सबै तपार्इंले जिम्मा लिनुस् । म जनताको मत ल्याउँछु र त्यसै अनुसार लागू गर्छु भन्ने थिएँ । यो समस्या समाधान जनताले गर्छ । सबै काम कानुन नियम र संविधान बमोजिम हुन्छ । एउटा नागरिकलाई आमरण अनशन बसाएको छ । अनि उसको माग पूरा गर, जीवन रक्षा गर भनेको छ । जीवन रक्षा त्यो व्यक्तिको माग पूरा गरेर हुन्छ । अनि त्यही लागू गर भन्छन् । यसो भए काँग्रेसले भन्नुपर्र्याे हामी निरङ्कुशतावादमा विश्वास गर्छाैँ भनेर । यस पटक हामीले दुईतिहाईको सरकार बनायौँ । भोलि काँग्रेसले पनि बहुमतको सरकार प्राप्त गर्ला नि ।
लोकतन्त्रको मूल्य मान्यता के हो भने हरेक चीज कानुन बमोजिम हुन्छ । कानुन भनेको जनताले निर्वाचित गरेर पठाएका संसदहरूले बनाउँछन् । कहाँ निषेधित क्षेत्र बनाउने, कहाँ संवेदनशील क्षेत्र घोषणा गर्ने यो संसदले दिएको हो । लोकतन्त्रले दिएको अधिकार प्रयोग गरेर सरकारले त्यो काम गरिरहेको छ । एक जना व्यक्तिले मूल्याङ्कन गर्दा ठीक हुने ? डाक्टर गोविन्द केसीले अनशन बस्न थालेपछि काँग्रेसको सरकार कति पटक बन्यो ? त्यसबेला के हेरेर बसेको ?
हाम्रो सरकारले पनि बुद्धि पुर्याएको जस्तो लागेन । निषेधित क्षेत्र अहिले नै बनाउनुपर्ने ? आफै बोक्न नसक्ने भारी बोक्ने ? कसैले पनि समर्थन गरेको छैन निषेधित क्षेत्रका बारेमा । संसदमा पनि विरोध भयो । यो कुरा हामीले ल्याउँदै छौँ भनेर जानकारी गराउनु पर्थ्यो ।







